धनकुटामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

धनकुटामा तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडकको धनकुटा नगरपालिका–९ स्थित पाँच गोलाईमा आज बिहान करिब २ बजेतिर धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको थियो।

दुर्घटनामा मिनी ट्रकका सहचालक उदयपुर रानीटारका १९ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक क्षेत्रीलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याएको थियो। उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो। दुर्घटनामा चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–९ कुर्कुनटारका २६ वर्षीय नारायण खड्का सामान्य घाइते भएका छन्। ट्रक अनियन्त्रित भई सडकदेखि झन्डै ३ सय मिटर तल खसेको थियो।

मृतक क्षेत्रीको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। चालक खड्कालाई प्रहरीको निगरानीमा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।

सुझावित समाचार