ब्रोकर एसाेसिएसनले भन्यो– पुँजी बजारको भविष्य उज्ज्वल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नू

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्ज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

पछिल्लो समय अन्याेलपूर्ण अवस्थामा लगानीकर्ताको मनोबल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोबलका साथ सेयर कारोबार गर्न ब्रोकर एसाेसिएसनका अध्यक्ष सागर ढकालले आग्रह गरेका छन् । 

अहिले नेप्से परिसूचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोहीअनुरूप उच्च मनोबलका साथ कारोबार गर्न ढकालले आग्रह गरेका हुन् ।

‘नयाँ सरकार गठनसँगै पुँजी बजारको सुधार र विकासका लागि पुँजी बजार सुधार सुझाव समिति बनाई पुँजी बजारको सुधार गर्नका लागि आवश्यक सुझावहरू लिई सोअनुसारको आवश्यक कदमहरूलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोहीअनुरूप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ,’ उनले भने, ‘बोर्डलगायत सरोकारवाला निकायले लगानीकर्ताहरूले माग गरेबमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरू अगाडि बढाइसकेको छ भने ब्रोकर एसाेसिएसनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालीन सुधारका काम गर्न झकझक्याउँदै आएको छ ।’ आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्‍याए पनि  समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरू, बैंक ब्याजदर, वैदेशिक मुद्राको बचतदर तथा मूल्यवृद्धलगायतका तथ्यांकहरूका साथै वित्तीय तरलतासमेत सृदृद्ध हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेकोसमेत उनले जानकारी दिए ।

साथै असोज २३ र २४ गते भएको युवा समूहहरू (जेन–जी) को आन्दोलन र सो आन्दोलनपश्चात् देखिएको राजनीतिक अस्थिरताले नेपालको पुँजी बजारलाई प्रभावित बनाए पनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिहरू बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीकर्ताहरू हतास हुन नपर्ने उनको भनाइ छ । ‘अहिलेको सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोहीअनुरुप सुधारका काम गर्न दबाब दिँदै आएका छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताहरू आफ्नो सम्पत्तिको सुरक्षा गर्दै संययिमत भएर सेयर कारोबार गर्नुको विकल्प छैन ।’

सुझावित समाचार