बढेन लगानीकर्ताको मनोबल

नेप्से परिसूचक एकै दिनमा ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोडको कारोबार

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

सेयर बजारमा तगारोका रूपमा लिइएको सेयर धितो कर्जाको सीमा खारेजीले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन । बजार परिसूचक घट्न थालेसँगै नेपाल राष्ट्र बैंकले एकल ग्राहक कर्जाअन्तर्गत सेयर धितो कर्जाको अधिकतम २५ करोड रुपैयाँको सीमा हटाएको थियो । तर, राष्ट्र बैंकको पहललाई आइतबारको बजारले पत्याएन । आइतबार परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा रोकिएको छ ।

लगानीकर्ताको मनोबल कमजोर बनेसँगै बैंकिङदेखि जलविद्युत् र पर्यटनसम्म सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार होटेल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ४.८४ प्रतिशतले घटेको छ । त्यसपछि अन्य समूहको परिसूचक ४.७९ प्रतिशतले घटेर दोस्रो स्थानमा छ । त्यस्तै, हाइड्रोपावर ३.७९ प्रतिशत, फाइनान्स ३.६७ प्रतिशत, डेभलपमेन्ट बैंक २.९३ प्रतिशत, माइक्रोफाइनान्स २.८८ प्रतिशत र व्यापार २.८५ प्रतिशतले घटेका छन् ।

जीवन बिमा समूहको परिसूचक २.५५ प्रतिशत, निर्जीवन बिमा २.३२ प्रतिशत, बैंकिङ २.३ प्रतिशत र म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ १.९४ प्रतिशतले घटेका छन् । तुलनात्मक रूपमा सबैभन्दा कम गिरावट म्युचुअल फन्डमा देखिएको छ । यो समूहको परिसूचकमा ०.९९ प्रतिशतको कमी आएको छ । कुल ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बिमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनी छन् । कुल बजार पुँजीकरण ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम छ । 

सुझावित समाचार