प्रेरक प्रसंग : सुगालाई साधुको सन्देश

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे । सेठले एउटा सुगा पालेका थिए । एक दिन सुगाले सेठसित सोध्यो– सेठजी, तपाईंहरू हरेक दिन कहाँ जानुहुन्छ ? सेठले जवाफ दिए– हामी हरेक दिन साधुमहाराजको सत्संग सुन्न जान्छौँ । 

सेठजीको जवाफ सुनेपछि सुगाले भन्यो– हजुरहरू सत्संगमा जानुहुन्छ भने कृपया साधुमहाराजसँग म कहिले स्वतन्त्र हुन्छु भनेर पनि सोधिदिनुहोस् न है ? हुन्छ, हामी सोधिदिउँला भनेर उनीहरू सत्संग सुन्न गए । सत्संग समाप्त भयो । सबै श्रोता बाहिरिएपछि सेठजीले सोधे– साधुमहाराज, मैले एउटा सुगा पालेको छु । त्यसले आज एउटा प्रश्न हजुरसामु राखिदिन अनुरोध गरेको छ । ऊ जान्न चाहन्छ कि ऊ कहिले स्वतन्त्र हुनेछ ?

प्रश्न सुन्नासाथ साधु महाराज बेहोस भएर ढले । उनलाई सहयोगीहरूले उठाएर आश्रमको भित्री भागमा लगे । सेठ चुपचाप त्यहाँबाट निस्किए । उनी घर पुग्नासाथ सुगाले सोध्यो– सेठजी, मेरो स्वतन्त्रताबारे साधु महाराजले के भन्नुभयो त ? सेठले भने– तेरो भाग्य नै खोटो रहेछ । प्रश्न सोध्नासाथ साधु महाराज बेहोस भएर ढल्नुभयो । सेठको जवाफ सुनेपछि सुगाले भन्यो– केही छैन सेठजी, मैले बुझेँ । 

अर्को दिन बिहान सेठ र उनकी पत्नी सत्संगका लागि निस्किँदै थिए, त्यति नै खेर सुगा पिँजडामा जानाजान छटपटाउँदै बेहोस भएर ढल्यो । सेठलाई लाग्यो, ला ! सुगा त मर्यो कि क्या हो ! उनले सुगालाई पिँजडाबाट बाहिर निकाले । मौका पाउनासाथ सुगा भुर्र उडेर बेपत्ता भयो । 

सत्संगमा पुग्नासाथ साधुले सेठसित सोधे– हिजो तपाईं सुगाको बारेमा केही सोध्दै हुनुहुन्थ्यो, अब ऊ कहाँ छ ? सेठले भने– महाराज, आज बिहानै ऊ जानाजान बेहोस भएको नाटक गरेर पिँजडामा लडेको रहेछ । मैले ऊ मरेछ भन्ठानेर बाहिर निकाल्नासाथ ऊ उडेर बेपत्ता भयो ।  सेठको जवाफ सुनेपछि मुसुक्क मुस्कुराउँदै साधुले भने– हेर्नुहोस् त सेठजी, तपाईं यति धेरै दिनदेखि सत्संग सुनेर पनि अझै सांसारिक मायामोहको पिँजडामा फसिरहनुभएको छ, तर त्यो सुगा भने सत्संगमा नआईकनै पनि मेरो एउटा इसारा बुझेर स्वतन्त्र भयो ।

सुझावित समाचार