संखुवासभामा मंगलबारदेखि मानेभञ्ज्याङ फुटबल कप हुने

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा छैटौँ मानेभञ्ज्याङ फुटबल कप यही असोज २८ मंगलबारदेखि सञ्चालन हुने भएको छ।

आयोजक एडभान्स क्लबले आइतबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो। विगतदेखि नै दसैँ र तिहारको बिचमा प्रतियोगिता सञ्चालन गर्दै आएको र त्यसैको निरन्तरतास्वरूप यो वर्ष कात्तिक १ गते समापन हुने क्लबका अध्यक्ष जिल्लामान राईले बताए।

विगतको जस्तो ठुलो प्रतियोगिता गर्न नसकिएको बताउँदै उनले यस वर्ष निरन्तरता मात्रै दिएको प्रस्ट पारे। जिल्लाभित्रका २० वटा क्लबको सहभागिता रहने उनले जानकारी दिए।

प्रतियोगिताको सम्पूर्ण तयारीमा जुटिसकेको क्लबका महासचिव वेदराज घिमिरेले बताए। उनका अनुसार प्रतियोगितामा एड्भान्स, खाँदबारी युथ क्लब, लोहोरुङ, सेकाहा क्बल, पांमा क्लब, तुम्लिङटार स्र्पोर्टिङ क्लब, मानेभञ्ज्याङ स्र्पोर्टिङ, हाङचुवा क्लब, चाँदनी युवा क्लब, चिचिला क्लब, कर्माशील क्लब, तीनपोखरी क्लब, भोटिया क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब, एकता परिवार क्लब, सितलपाटी क्बल, स्वर्निम मत्स्यपोखरी क्लब र किमाथांका युथ क्लबको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार, सेमिफाइनलिस्ट दुई टिमले २०÷२० हजार रुपैयाँसहित सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि १३ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकको भनाइ छ। 

सुझावित समाचार