संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बग्राम एयरबेस’माथि पुन: अमेरिकी नियन्त्रण कामय हुनुपर्ने भन्दै दबाब दिइरहेका वेला भारतलगायत अफगानिस्तानका सबै छिमेकीले त्यसलाई नस्विकार्ने बताएका छन् । अफगानिस्तानमा ‘सैन्य पूर्वाधार’ तैनाथ गर्ने विदेशी प्रयासविरुद्ध उसका सबै छिमेकीले दुर्लभ एकता प्रदर्शन गरेका छन् ।
मंगलबार अफगानिस्तानका छिमेकी देशहरूको क्षेत्रीय समूह ‘मस्को फम्र्याट अफ कन्सल्टेसन अन अफगानिस्तान’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र, एकताबद्ध र शान्तिपूर्ण अफगानिस्तानको निर्माणप्रति आफ्नो अटल समर्थन’ दोहोर्याए । समूहमा अफगानिस्तानसहित रुस, चीन, इरान, भारत, पाकिस्तान र मध्य–एसियाली राष्ट्र सामेल छन् । मध्य–एसियाली देशमा कजाखस्तान, किर्गिजस्थान, ताजिकस्थान, उज्बेकिस्तान छन् । ती सबैले अफगानिस्तानमा कुनै प्रकारको अमेरिकी फिर्तीको कडा विरोध गर्ने बताएका छन् ।
‘बाह्य देशले अफगानिस्तान र छिमेकी राज्यमा आफ्नो सैन्य पूर्वाधार तैनाथ गर्ने प्रयासलाई अस्वीकार्य मान्छौँ । किनकि, यसले क्षेत्रीय शान्ति र स्थायित्व गर्दैन,’ वक्तव्यमा भनिएको छ । एक वर्षकै भाषा प्रतिध्वनित भएको यस वक्तव्यले ट्रम्पको बग्राम फिर्ता लिने प्रयासविरुद्ध व्यापक क्षेत्रीय विरोध रहेको संकेत गर्छ । जबकि, ट्रम्प आफैँले पाँच वर्षअघि अमेरिकी सेना काबुलबाट फिर्ता गर्न मार्गप्रशस्त गर्ने सर्तमा तालिबानलाई हस्तान्तरण गरेका थिए ।
यसपटकको वक्तव्यमा लामो समयदेखिको अमेरिकी सहयोगी देश भारतले समेत समर्थन जनाएको छ । उसो त पछिल्लो समय नयाँदिल्ली र वासिंटनबिचको सम्बन्ध केही चिसिएको छ । आफूले लामो समयदेखि विरोध गर्दै आएको तालिबानसँग भारतले पछिल्लो समय सम्बन्ध विकास गरेको छ । यसै अनुरूप तालिबानका विदेशमन्त्री अमिर खान मुक्ताकी अक्टोबर ९ देखि १६ सम्म नयाँदिल्लीको ऐतिहासिक पहिलो भ्रमणमा छन् ।
मस्को फोरममा समेत भाग लिएका, मुक्ताकीले पनि अफगानिस्तानले कुनै पनि विदेशी सैन्य उपस्थिति नस्विकार्ने बताए । ‘अफगानिस्तान एक स्वतन्त्र र स्वाधीन देश हो । इतिहासभरि यसले विदेशी सैन्य उपस्थितिलाई कहिल्यै स्विकारेको छैन । हाम्रो निर्णय र नीति अफगानिस्तानलाई स्वतन्त्र र स्वाधीन राख्ने नै रहनेछ,’ मुक्ताकीले भने ।
गत महिना ट्रम्पले बग्राम फिर्ता नगरेमा अफगानिस्तानलाई ‘धेरै नराम्रो’ हुने धम्की दिएका थिए । र, तालिबानले चीननजिक रहेको यस रणनीतिक स्थानलाई फिर्ता गर्ने ट्रम्पको आह्वानलाई अस्वीकार गरेको छ ।
चीनको सिमानाबाट ८०० किमि टाढा रहेको बग्राम एयरबेस सिनजियाङस्थित सबैभन्दा नजिकैको चिनियाँ मिसाइल कारखानाबाट लगभग दुई हजार ४०० किलोमिटर मात्रै पर छ । ट्रम्पले बग्राममाथिको नियन्त्रण पुन: प्राप्त गर्न चाहनुको प्रमुख कारण नै चीनसँगको नजदिकी भएको उल्लेख गरेका छन् । गत महिना लन्डनमा एक भेलामा सम्बोधन गर्ने क्रममा ट्रम्पले भनेका थिए, ‘बग्राम आधार चीनले आफ्नो आणविक हतियार बनाउने ठाउँबाट जम्मा एक घण्टा मात्र टाढा छ ।’
तथापि, वर्तमान र पूर्वअमेरिकी अधिकारीले ट्रम्पको लक्ष्यमाथि शंका व्यक्त गर्दै आएका छन् । बग्राममाथि पुन: अमेरिकी पकड कायम गर्न ठुलो स्तरको आक्रमण गर्नुपर्ने र त्यो पुन: अफगान अतिक्रमण हुने तिनले बताएका छन् । यस अभियानमा १० हजारभन्दा बढी सेनाका साथै उन्नत हवाई प्रतिरक्षा तैनाथीको आवश्यकता पर्न सक्ने सुरक्षा विज्ञको अनुमान छ ।
‘सो एयरबेस हस्तान्तरणको हुने वार्ता र फौज पुन: परिचालनको परिणाम निकै चुनौतीपूर्ण र लामो हुनेछ । साथै, त्यसले दुईमध्ये कुनै पक्षलाई रणनीतिक हित गर्नेमा शंका छ,’ जेनेभामा मुख्यालय रहेको ‘सेन्टर अन आर्म्ड ग्रुप्स’का सह–निर्देशक एस्ले ज्याक्सनले भने ।
सेप्टेम्बर ११, २००१ मा अलकायदाले न्युयोर्क र वासिंटनका विभिन्न स्थानमा आतंकवादी आक्रमण गरेपछि सुरु भएको दुई दशक लामो युद्धको समयमा बग्राम एयरबेस स्थापना गरिएको थियो । विशाल क्षेत्र ओगटेको यो एयरबेस अफगानिस्तानमा अमेरिकी सेनाको मुख्य अड्डा थियो ।
अमेरिकी सेनाको नेतृत्वमा भएको तथाकथित ‘आतंकवादविरुद्धको युद्ध’का क्रममा हजारौँ मानिसलाई कुनै आरोप वा मुद्दाविना नै उक्त स्थानमा वर्षौंसम्म कैद गरिएको थियो । कैद गरिएकामध्ये अधिकांशले आफूमाथि दुर्व्यवहार भएको वा यातना दिएको बयान दिएका थिए ।
ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा पहिलोपटक कार्यान्वयन गरेको अमेरिकी फिर्ती र ह्वाइट हाउसमा जो बाइडेनसँगै अफगान सरकारको पतनपछि सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनपछि तालिबानले त्यस एयरबेस पुन: कब्जा गरेको थियो ।
ट्रम्पले पहिलो कार्यकालमा अमेरिकी सेनाको अफगान फिर्ती प्रक्रिया सुरु गरेका थिए, जसलाई उनीपछि राष्ट्रपति बनेका जो बाइडेनले पनि निरन्तरता दिएका थिए । पूरै अमेरिकी सेना फर्किइनसक्दै तालिबानले काबुल कब्जा गरिसकेको थियो ।
–अल जजिराबाट