सरकारले प्रतिबन्ध लगाएका औषधि नक्कली कागजपत्र बनाएर बिक्री गर्ने कम्पनीका अध्यक्ष पक्राउ

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

सरकारले प्रतिबन्ध लगाएका पशुसम्बन्धी औषधि ल्याएर बिक्री-वितरण गर्दै आएको एक भेट कम्पनीमाथि प्रहरीले छानबिन थालेको छ। कान्तिपुर भेट डिस्ट्रिब्युटर्सकी अध्यक्ष सुना सुवेदी बडाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेर अनुसन्धान थालेको हो। 

सो कम्पनीले नक्कली पत्र खडा गरी प्रतिबन्धित औषधि आयात गरी बिक्री-वितरण गर्दै आएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। शुक्रबार पक्राउ परेकी सुनालाई सिआइबीले लिखत किर्ते कसुरमा अनुसन्धान अघि बढाएको छ। 

सो कम्पनीका मुख्य सञ्चालक सुनाका श्रीमान् ऋषि बडाल हुन्। जसले सत्ताको आडमा वर्षाैदेखि गैरकानुनी काम गर्दै आएको स्रोत बताउँछ। 

बडालले ब्रोइलर कुखुरालाई दिइने प्रतिबन्धित औषधिहरू उनले आयात गरेर बिक्री गर्दै आएका थिए। कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता नभएका पशुपन्छीको फुड सप्लिमेन्ट, प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइन्डर फरक नाममा आयात गरेर बिक्री गर्दै आएको थियो। यस्ता सप्लिेमेन्ट खुवाइएका कुखुराको मासुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै रोकिएको थियो। यसका लागि उनले पशु सेवा विभागअन्तर्गतका कार्यालयको पत्र नै किर्ते बनाउने गरेकोसमेत सिआइबीको अनुसन्धानमा खुलिसकेको छ। 

यस विषयमा पहिले नै प्रहरीमा उजुरी परेकोमा अनुसन्धान रोकिँदै आएको थियो। 
 

सुझावित समाचार