एमाले सचिवालय बैठक : चुनावप्रति शंका, संसद् पुनर्स्थापना गर्न दलहरूसँग वार्ता

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

एमालेले अहिलेको सरकार चुनावको दिशामै नरहेको विश्लेषण गर्दै संसद् पुनर्स्थापनाका लागि कांग्रेससहित राजनीतिक दलहरूसँग वार्तामा रहेको जानकारी गराएको छ । सरकार चुनावी वातावरण बनाउने काममा नलागेको बरु मुलुकलाई तनाव र मुठभेडतिर लैजान उद्यत रहेको एमालेको आरोप छ । 

‘निर्वाचनको आत्मा भनेको भयरहित वातावरण, निष्पक्षता, स्वच्छता र हरेक उम्मेदवार, दलले निर्भयतापूर्वक मतदातासामु आफ्ना कुरा लैजान पाउने वातावरण हो । त्यो वातावरण निर्माणमा सरकार लागेकै छैन । सरकार चुनाव गर्ने होइन, राजनीतिक अस्वस्थतातिर लागेको छ,’ ज्ञवालीले भने, ‘कुनै पनि लोकतान्त्रिक शक्ति निष्पक्ष र भयरहित वातावरणको निर्वाचनबाट पन्छिँदैनन् । तर, जे घटनाक्रम भए, त्यो सामान्यतया निर्वाचन गरेर लोकतन्त्र पुनस्र्थापित गर्ने उद्देश्यले भएका होइनन् भन्ने गम्भीर आशंका छ ।’ 

एमालेले अन्तरिम सरकार चुनाव गराउनेभन्दा पनि राजनीतिक दलहरूलाई निषेध गरेर देशलाई मुठभेडको दिशामा लैजान प्रयासरत रहेको विश्लेषण गरेको छ । ‘एउटा विशेष स्थितिमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभो, तर त्यसपछि सरकारले गरिरहेको काम र क्रियाकलापप्रति हाम्रो गम्भीर आपत्ति छ । मुलुकको विभाजित मनस्थिति जोडेर राष्ट्रिय एकता कायम गर्न सबै दललाई साथमा लिएर अघि बढ्नुपथ्र्यो । तर, साथ लिने होइन सरकार निषेधको बाटोबाट अगाडि बढिरहेको छ,’ बैठकपछि ज्ञवालीले भने ।

उनले सरकारका क्रियाकलापले चुनावभन्दा मुठभेड निम्त्याउने एमालेको टिप्पणी छ । ‘सरकार बनाउनेहरू हिंसाको भाषा बोलिरहेका छन् । राजनीतिक नेताहरूमाथि भौतिक आक्रमणको धम्की दिइएको छ । एकातिर गृहमन्त्रीको दबाबमा प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने काम भएको छ,’ ज्ञवालीले भने, ‘अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद तोक्ने काम भएको छ । यसले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा होइन, मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत छ भन्ने देखिन्छ ।’ 

See More On

सुझावित समाचार