एटिएमबाट गरिने कारोबारको सीमा घटाइयो, एकपटकमा २० हजार र दैनिक ५० हजार मात्रै झिक्न पाइने

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटिएम)बाट गरिने कारोबारको सीमा घटाएको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यसको सीमा घटाएको हो।

संशोधित व्यवस्थाअनुसार अब एटिएम कार्डबाट एकपटकमा २० हजार रुपैयाँसम्मको मात्रै कारोबार गर्न सकिनेछ। अर्थात्, एकपटकमा एटिएम बुथबाट २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ। यसअघि एकपटकमा २५ हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने सुविधा थियो।

यस्तै, प्रतिदिन कारोबार सीमा पनि एक लाख रुपैयाँबाट घटाएर ५० हजार रुपैयाँमा सीमित गरिएको छ। मासिक कारोबार सीमा भने एक लाख रुपैयाँले घटाइएको छ। यसअघि डेबिट कार्डबाट मासिक रूपमा चार लाख रुपैयाँबराबरको कारोबार गर्न पाउने सुविधा थियो। अहिले त्यसलाई घटाएर तीन लाख रुपैयाँमा सीमित गरिएको हो।

राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसको सीमा घटाएको जनाएको छ। स्वाइपबाहेकको अवस्थामा एटिएम कार्डबाट गरिने कारोबार पनि नगदमै आधारित हो।

सुझावित समाचार