रामेछाप नगरपालिका– ५, रामपुरस्थित कोलोन्जोरमा रहेको शिवालय आधारभूत विद्यालय भवन पहिरोले पुरिँदा विद्यालयको पठनपाठन ठप्प हुने भएको छ । अविरल वर्षासँगै केही दिनअघि सडकबाट झरेको पहिरोले विद्यालय भवन पुरेको हो। दसैँ बिदामा विद्यालय बन्द हुँदा शिक्षक र विद्यार्थीहरूलाई केही क्षति नपुर्याए तापनि विद्यालयमा भएको फर्निचर, कम्प्युर र शैक्षिक सामग्रीहरूसहित विद्यालय भवन पूर्ण रूपमा नष्ट भएको छ । सो विद्यालयमा कक्षा एलसिडीदेखि कक्षा पाँचसम्म पढाइ हुँदै आएको थियो । विद्यालयमा हाल ४० जना विद्यार्थीहरू अध्ययनरत रहेको शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक भीमबहादुर माझीले जानकारी दिए ।
उनले भने, ‘विद्यालय भवन काम नै नलाग्ने गरी पहिरोले पुरेको छ । पहिरोले पुरिँदा विद्यालयमा भएका सम्पूर्ण सामग्रीहरू काम नै नलाग्ने भएका छन् । अहिले दसैँ र तिहार बिदाको लागि विद्यालय बन्द गरिएको छ । तिहारपछि विद्यालय खुल्ने अवस्था छैन । विद्यार्थीलाई कहाँ राखेर पढाउने समस्या छ । विद्यालयको पर्याप्त जग्गासमेत छैन । तत्काल रामेछाप नगरपालिकासँग समन्वय गरेर अस्थायी रूपमा टिएलसी निर्माण गरी विद्यालयको पठनपाठन नियमित गर्नुपर्ने अवस्था आएको छ ।’
विद्यालयको आर्थिक स्राेत न्यून भएको र अभिभावकहरूकाे समेत आर्थिक अवस्था कमजोर भएकाले विद्यालयले मात्रै विद्यालय भवन निर्माण गर्न सक्ने अवस्था नरहेको सो विद्यालयका व्यवस्थापन समितिका सदस्यले जानकारी दिए । उनले भने, ‘यहाँ पढ्ने सबै बालबालिकाको अभिभावकहरूको आर्थिक अवस्था कमजोर छ । हामीले चन्दा उठाएर विद्यालय भवन निर्माण गर्न सक्ने अवस्था छैन ।’
विद्यालयमा भएको क्षतिका विषयमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले वडा कार्यालयमा जानकारी गराएसँगै रामेछाप नगरपालिकामा यस विषयमा आफूले जानकारी गराइसकेको रामेछाप नगरपालिका– ५ का वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘विद्यालय खुल्न अझै केही समय लाग्छ । त्यतिबेरसम्म विद्यालयनजिकै जग्गा खोजेर अस्थायी रूपमा कटेज (टिएलसी) निर्माण गरेर पठनपाठन नियमित गर्न आवश्यक व्यवस्थापनका लागि नगरपालिकासँग अनुरोध गरेको छु ।’
यसअघि विद्यालय भवनमा कुनै पनि पहिरोले क्षति पुर्याएको थिएन । केही वर्षअघि रामेछाप नगरपालिका र वडा कार्यालयले विद्यालय माथिल्लो भागबाट कोलोन्जोरघाटतर्फ कच्ची सडक निर्माण गरेको थियो । अहिले सोही सडकबाट पहिरो झरेर विद्यालय भवन पुरेको हो । पहिरोले विद्यालय भवन पुरेसँगै आफ्ना बालबालिकाको पढाइ प्रभावित हुने भयो भन्ने चिन्ता आमअभिभावकमा परेको रामेछाप नगरपालिका– ५, कोलोन्जोरकी सीता माझीले बताइन् ।