पाँच दिनपछि सञ्चालनमा आयो तमोर करिडोर

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

लगातारको वर्षापछि अवरुद्ध भएको तमोर करिडोर पाँच दिनपछि बिहीबारबाट सञ्चालनमा आएको छ । धनकुटा र पाँचथरलाई तराईसँग जोड्ने मुख्य मार्गका डाइभर्सनहरू बगाउनुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । धनकुटा जिल्लाको छरुवा खोला र धनकुटा–पाँचथर सीमाको नावा खोलामा बाढीले डाइभर्सन बगाएको थियो । 

वर्षा रोकिएपछि सोमबारबाट अवरोध हटाउने काम सुरु गरिए पनि, बुधबार साँझ मात्र पूर्ण रूपमा सडक खुलाउन सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिए । सडक सञ्चालनमा आए पनि बिहीबार बिहानदेखि मात्र पूर्ण रूपमा सवारीसाधन चल्न थालेका छन् । सडक सञ्चालनमा आएसँगै धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ साथै झापाबाट समेत सवारीसाधन सोही बाटो आउन थालेका छन् । तमोर करिडोर र मेची राजमार्ग बाढीले अवरुद्ध हुँदा यी क्षेत्रको तराईसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

तमोर करिडोरका खोलाहरूमा स्थायी पुल नहुँदा बारम्बार सडक अवरुद्ध हुने समस्या रहेको धनकुटा चौबिसेका स्थानीय महेन्द्र न्यौपानेले बताए । ‘अलिकति पानी पर्दा पनि सडक बन्द हुन्छ, यो समस्या दीर्घकालीन समाधान हुनुपर्छ,’ उनले भने । यस करिडोर हुँदै दैनिक दुई सयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

सुझावित समाचार