सिराहाको बलान खोला किनारबाट दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– २ स्थित बलान खोला किनारबाट दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ ।भगवानपुर गाउँपालिकाको इनर्वास्थित प्रस्ताविक सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले दुई क्विन्टल १९ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले बलान खोला किनारमा नौवटा प्लास्टिकको बोरामा प्याक गरेर लुकाएर राखिएको उक्त परिमाणको गाँजा शुक्रबार बिहान करिब साढे ३ बजेतिर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । 

‘सीमा पार गर्न गाँजा ल्याउँदै गरेको सूचनापछि हामीले निगरानी गरिरहेका थियौँ,’ उनले भने, ‘गाँजा ल्याउनेहरू फेला परेनन्, गाँजा भने भेटियो ।’ उनका अनुसार बरामद गरिएको गाँजा प्रक्रिया पुर्याएर नेपाल प्रहरीलाई बुझाइने तयारी गरिएको छ । सीमाक्षेत्रमा चोरी तस्करी र लागुऔषध ओसारपसारविरुद्ध सशस्त्र प्रहरीले कडा निगरानी गरिरहेको उनले बताए ।

See More On

सुझावित समाचार