- जेन–जीले उठाएका मुद्दामा अहिले समाजको पिँधदेखि टुप्पाका हरेक नेपालीको मनलाई पोल्दै आएका विषय नै छन्
नेपालमा एक नपत्याएको पुस्ताले ठुलो परिवर्तन गरिदिएको छ । जुन पुस्तालाई माथिल्ला पुस्ताले घोप्टे पुस्ताको रूपमा चित्रण गर्थे, मोबाइलमा घोत्लिएर बस्ने भएकाले । परिवार, समुदाय र मुलुकका विषयमा संवेदनशील नरहेको र विदेश जान मात्रै लालायित रहेर आरोप पाउँदै आएको पुस्ताले गत भदौ २३ गते एक सचेत नागरिकको रूपमा सरकारसँग केही गम्भीर प्रश्न राखे । तर, प्रश्नको जवाफ दिनुको सट्टा सत्तापक्षबाट तिनको टाउको र छातीमा गोली हानियो । तिनले आफ्नो संघर्षमार्फत माथिका पुस्तालाई नै लज्जित, नाजवाफ र स्तब्ध तुल्याइदिएका छन् ।
केही दिनदेखिको अविरल वर्षाले सडकमाथि पोखिएको ती निर्दोष, निहत्था जेन–जी पुस्ताका कलिला बालबालिकाको रगत त पखालियो होला । तर, राज्यद्वारा गरिएको त्यो हत्या हरेक नेपालीको मुटुमा कहिल्यै निको नहुने पीडा दिने घाउ बनेर बसेको छ ।
वास्तवमा तिनले उठाएका मुद्दा तिनका मात्रै थिएनन् । भ्रष्टाचारको अन्त र सुशासनको अनुभूति गर्न माग गर्नु साँच्चै कुनै अपराध थियो ? यो प्रश्न अहिले समाजको पिँधदेखि टुप्पाका हरेक नेपालीको मनलाई पोल्दै छ । यसको जवाफ दिने दायित्व कसको हो ? तत्कालीन गठबन्धन सरकार, प्रतिपक्षी र राज्यका हरेक जिम्मेवार निकायले यसको जवाफ तयार गरिराख्नुपर्ने होला । किनकि, मुलुकप्रति चिन्तित पुस्तालाई अब जवाफ नदिई धर छैन ।
आगामी दिनमा गर्नुपर्ने काम धेरै छन् । जस्तो कि जसरी नेपालमा जेन–जीको नाम त स्थापित भयो । त्यसैगरी, तिनका मुद्दा पनि स्थापित गरिनुपर्छ । देशभरिकै जेन–जी पुस्ताले अग्रसरता देखाएका साझा मुद्दालाई दस्ताबेजीकरण गरिनु जरुरी छ । विद्रोहको नेतृत्व एउटा पुस्ताले गरेको भए पनि तिनको माग सबैसँग सरोकार राख्ने विषय थियो । यस्तोमा बुद्धिजीवीको भूमिका बढ्छ । समाज अत्यधिक सकसमा र मुलुक गम्भीर मोडमा हुँदा समाजका अगुवा बुद्धिजीवी तथा नागरिक समाजको जिम्मेवारी थप बढ्छ ।
कतिपय विषयवस्तुमा तिनलाई सही ‘मेन्टरिंग’ आवश्यक हुन सक्छ । तर, नियन्त्रण भने गरिनुहुँदैन । किनकि, तिनले नीतिहरू नबुझेको हुन सक्ला, तर तिनका नियत पवित्र छ । इतिहास साक्षी छ, मुलुकको कायापलट युवाबाटै हुने गरेको छ । त्यसैले नेपालको जेन–जी पुस्तालाई हाम्रो साथ र विश्वासको मात्रै आवश्यकता देखिन्छ ।
गत भदौ २३ गतेको नरसंहार र त्यसको परिणामस्वरूप उत्पन्न २४ गतेको दुर्भाग्यपूर्ण विध्वंसबारे विभिन्न किसिमले व्याख्या, विश्लेषण र मूल्यांकन भइरहेको देखिन्छ । विद्रोहपछाडिको एउटा कारण भने निर्विवाद स्थापित छ, त्यो समाजको स्पन्दन बुझ्न नसकेको, समाजको पिँधसँग सम्बन्ध तोडेका सत्तासीन राजनीतिक दल नै हुन् । तिनको सत्तालिप्सा, अक्षम नेतृत्व र दम्भको कारण मुलुकले ठुलो पीडाबाट गुज्रिनुपरेको छ ।
दुर्भाग्य, यति ठुलो उथलपुथलपछि पनि पुराना दलको दम्भ अझै पनि कम भएको देखिँदैन । तिनको आन्दोलनप्रतिको उपहासपूर्ण बोलीव्यवहारले पुराना दल र तिनका नेता जेन–जी आन्दोलनको भावनाप्रति पूर्णत: असंवेदनशील देखिन्छन् । जुन किसिमले भावनात्मक रूपले यो पुस्तालाई विश्वासमा लिँदै अगाडि बढ्नुपथ्र्याे, त्यसमा पूर्णत: असफल भएको स्पष्ट छ ।
उदाहरणको रूपमा भदौ २३ गते नै गोली चलाउने आदेश दिनुभन्दा तिनलाई संवादमा बोलाएर छलफल गर्न सकिन्थ्यो । छलफलबाट माग सम्बोधन गर्न सकिन्थ्यो । तर, सदा चाटुकारबाट घेरिएर बस्ने नेतृत्व तहको अक्षमताले त्यो विध्वंस निम्त्यायो । अझै पनि सामाजिक सञ्जाल र मिडियामा आइरहेका तिनका भाषाशैली र प्रस्तति उदेकलाग्दा नै छन् । ७६ नागरिकको हत्या भएको पीडाको पश्चात्ताप न तिनका अनुहारमा भेटिन्छ, न त अभिव्यक्तिमै । बरु छद्म छलको गन्ध फैलिँदो छ ।
युवालाई युवासँग लडाउन खोज्ने तत्व सक्रिय भएकोझैँ देखिन्छ । राजनीतिक दलका भाषाशैली र प्रस्तुतिमा समाजप्रतिको संवेदनशीलता देखिनुपर्नेमा दम्भ देखिँदै छ । राजनीतिक दलभित्रका युवा जमातमा निरीहता देखिन्छ । यस्तो अवस्थाले मुलुकलाई थप कठिन मोडमा नपुर्याउला भन्न सकिन्न । मुलुक कठिन अवस्थामा जान सक्ने अनुभूति समाजको पिँधका सर्वसाधारण नागरिकले समेत महसुस गर्न थालेका छन् । साथै देशलाई भ्रष्टाचारमुक्त गर्न र सुशासन कायम गर्न जेन–जी पुस्ताले गरेको त्याग र बलिदान त दिए, तर त्यो मुद्दा कार्यान्वयन नहुने हो कि भन्ने डर बढेको छ ।
हरेक नेपाली जहाँ जुन भूमिकामा छौँ, त्यहीँ रहेर गम्भीरताका साथ जेन–जी आन्दोलनका मुद्दाप्रति जवाफदेही हुनु नै आजको आवश्यकता हो । जेन–जी आन्दोलन एउटा सक्रिय युवापुस्ताले सुरु गरेको लडाइँ हो, जसले उठाएका विषयमा कुनै शंका र द्विविधा गर्नुपर्ने ठाउँ छैन । न त तिनका नियत र क्षमतामाथि शंका गर्न सकिन्छ । अनुभवको कमीले उनीहरू विधि र प्रक्रियामा पोख्त नहोलान्, त्यसमा राज्यका सबै निकायलगायत हरेक सचेत नागरिकले सघाउनुपर्ने आवश्यकता छ ।
आगामी निर्वाचनमा कुनै पनि उम्मेदवारको हारजितमा निर्णायक भूमिका खेल्न सक्ने जनसंख्या भएको उमेर समूह हो, जेन–जी पुस्ता । नेपालको भविष्य कोर्ने जिम्मेवारी बोक्नुपर्ने पुस्ता नेपालको राजनीतिक कुसंस्कारले निम्त्याएको दुष्परिणाम झेल्दै आएकाले, त्यसप्रति अनभिज्ञ छैन । अब मुलुक नबनाई हुँदैन भनी आँट गरी अघि सरेका छन् । तिनलाई विभिन्न जालझेल गरी पन्छाउने कि साथ दिँदै अगाडि बढ्न उत्साहित गर्ने ? अहिलेको मुख्य प्रश्न यही हो ।
आजको बढ्दो विज्ञान–प्रविधि र सञ्चार माध्यमको सहायताले विश्वका विभिन्न मुलुकको समृद्धि र दुर्गतिका विविध पक्षबारे जानकार रहेको पुस्ता हो, जेन–जी । यो पुस्ताले विश्वव्यापीकरणको अवसर र चुनौती पनि बुझेका छन् । तिनले नेपालमा १० वर्षमा नौ सरकार, संघमा १० वर्षमा दुई सय ८५ व्यक्ति तीन सय ८४ पटक मन्त्री, प्रदेशमा ३३ व्यक्ति ४१ पटक मुख्यमन्त्री र तीन सय ७७ व्यक्ति चार सय ९४ पटक मन्त्री भएको देख्यो । तिनको राजसी जीवनशैली, रातारात भएको आर्थिक प्रगतिपछाडि भ्रष्टाचारको फैलँदो क्यान्सर देखेको छ ।
भ्रष्टाचारले समाजका तलदेखि माथिसम्मको हरेक संरचना प्रभावित हुँदा देखिने ढिलासुस्ती असमानता तिनले आफँैले भोगेका छन् । यसबाट वाक्कदिक्क भएर समाधान खोज्न हिँडेका पुस्ताका भावना नबुझी विगतझैँ दबाउने, धपाउने र सिध्याउने सोच राखियो । अब पनि तिनको भावना नबुझी मुलुक अघि बढ्न खोज्यो भने देश थप संकटमा जाने प्राय: निश्चित छ ।
भदौ २३ र २४ दुई दिनका जे–जति घटना घटे, त्योसँग जोडिएका सम्पूर्ण पक्ष र पात्रका भूमिकाबारे भविष्यमा खुल्दै जाला । अध्ययन अनुसन्धान सुरु पनि भइसकेको छ । तर, वर्तमान परिवेशमा मुलुकलाई बेथितिको चंगुलबाट निकाल्नु केही कदम चालिहाल्नुको विकल्प छैन । यसका लागि अपनाउन सकिने केही कदम यहाँ चर्चा गरिएको छ:
- यो आन्दोलन एउटा पुस्ताले गरेको भए पनि यसको माग सबै देशवासीको हो । त्यसैले, आन्दोलनमा उठेका मागलाई ओझेलमा पर्न दिन हुँदैन ।
- राजनीतिक दलका लागि पुस्तान्तरण र पश्चात्तापसहित समाजको पिँधसँग जोडिने यो एक अवसर हो । यसको सही उपयोग गर्दै दलहरूको संरचनागत तथा कार्यगत शैलीमा रुपान्तरण गर्न सकिन्छ ।
- समाजको पिँधले अपनत्वको अनुभूति गर्न सक्ने बलियो नागरिक समाजको उपस्थितिको प्रबल सम्भावना देखिन्छ ।
- समाजभित्र रहेका विभिन्न उत्पादनसँग सम्बन्धित सम्भावनाको खोजी र सहकार्यको सम्भावनासहित युवाका लागि प्रचुर अवसरको निर्माण गर्न सकिन्छ ।
- देशमा अवसर बढाएर युवाहरूको विदेश पलायन घटाउने उपाय खोज्नुपर्छ, यसले सामाजिक सम्बन्धहरूको बढ्दो विग्रह घटाउने र सम्बन्धहरू बलियो बनाउने आधारहरू निर्माण गर्न सक्छ ।
यदि समयमै गम्भीर नहुने हो भने यसले मुलुकलाई उल्लिखित संकटतर्फ धकेल्ने सम्भावना बढ्छ । विशेषत: विभिन्न स्वार्थ समूह युवाहरूको विग्रहमा खेल्ने प्रयास गर्न सक्छन् । तिनले जेन–जी नेतृत्व समूहलाई प्रयोग गरेर आफ्नो स्वार्थअनुरूपको संरचना निर्माण गराउने गरी खेल्न सक्छन् । यसको दीर्घकालीन असर मुलुकको सार्वभौमिकता र वैदेशिक सम्बन्धमा पर्न सक्छ । सिर्जनशील युवाहरू रुमल्लिने सम्भावना बढ्न सक्छ । र, मुलुकमा अशान्ति, असुरक्षा र द्वन्द्व बढ्न सक्छ । बिस्तारै मुलुक नै लामो संकट वा गृहयुद्धतर्फ बढ्न सक्छ । अनि, विभिन्न बहाना र कारण देखाई बाह्यशक्तिको चलखेल बढ्न सक्छ । यसले सम्पूर्ण नेपालीले दु:ख भोग्नुपर्ने अवस्था निम्त्याउन सक्छ ।
त्यसैले अहिले रुपान्तरणको सही समय हो । कुनै पनि हालतमा भदौ २३ गते गरिएको हाम्रा बालबालिकाको हत्यालाई नबिर्सौं र मुलुकलाई भ्रष्टाचार र बेथितिको चंगुलबाट निकाल्न सामूहिक सहकार्य गरौँ ।
लेखक समाजशास्त्री हुन् ।