आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा कुवेतविरुद्ध जापान पाँच विकेटले विजयी भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले कुवेतले ६ विकेटको क्षतिमा १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जापानले पाँच विकेटको क्षतिमा तीन बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।
पहिले ब्याटिङ गरेको कुवेतका लागि अलि जहिरले सर्वाधिक ४१ रन बनाएका थिए। यसैगरी, यासिन पटेलले ४०, भेलोककरन आन्तो क्लिन्टोले ३४ र मीत भवसारले २९ रनको योगदान गरे।
जापानका डिक्लेन सुजुकी म्याक्कोम्बले सर्वाधिक तीन विकेट लिँदा सवाद्रिस रविचन्द्रनले दुई र अब्दुल समादले एक विकेट लिए।
१९.३ ओभरमा १७८ रन जाेड्ने क्रममा जापानका एसाम रहमानले अर्धशतकीय पाली खेले। उनले ३९ बलमा ६४ रन बनाउँदा सवाद्रिस रविचन्द्रन ३९ तथा केन्डेल काडोवाकी फ्लेमिङ २८ रन जोडेर रन आउट भए। इब्राहिम ताकाहासीले २६ रनको योगदान गरे।
कुवेतका आकिफ फारुक, यासिन पटेल र सिराज सेरिफले समान एक विकेट लिए। कुवेत यसअघि बुधबार नेपालसँग ५८ रनले पराजित भएको थियो।
अब भोलि शुक्रबार नेपाल र जापानबिचको खेल हुनेछ।