कतारमा कार्यरत र व्यवसायमा संलग्न नेपालीलाई स्थानीय कानुन, सांस्कृतिक मूल्य, सामाजिक मर्यादा र व्यवहारका नियमहरूको पूर्ण पालना गर्न नेपाली राजदूतावासले १७ बुँदे जरुरी सूचना जारी गरेको छ।
कतारमा सार्वजनिक स्थलमा हुने अनुचित व्यवहार, मादक पदार्थ सेवन, अवैध कारोबार, अनधिकृत काम र सामाजिक सञ्जालमा अशोभनीय सामग्रीका कारण नेपाली समुदायको छविमा गम्भीर असर परेको भन्दै दूतावासले सवैलाई सचेत र मर्यादित हुन अनुरोध गरेको हो।
कतारको कानुन, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना, कानुनले निषेध गरेको कुनै पनि कार्य नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ र धूम्रपान सेवन नगर्न, शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्न, प्रमाणपत्र वा सरकारी कागजात नक्कली नबनाउन र प्रयोग नगर्न, आफ्नो राहदानी, कतारी परिचयपत्र, बैंक खाता नम्बर, फोन नम्बर वा सीम कार्ड अरूलाई नदिन र दुरुपयोग हुन नदिन दूतावासले आग्रह गरेको छ।
एउटा कम्पनीको भिसामा रहेर अर्को कम्पनीमा काम नगर्न, श्रमिक आपूर्तिका नाममा अरूको पैसा कारोबार वा लेनदेन नगर्न, सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हनन गर्ने वा गलत सूचना फैलाउने कार्य नगर्न र नेपाली चाडपर्व मनाउँदा धार्मिक तथा सांस्कृतिक संवेदनशीलता र कतारी मूल्य–मान्यताको सम्मान गर्न दूतावासले सचेत गराएको छ।
कतारमा रहेका सबै नेपालीहरूले स्थानीय नियमहरूको कडाइका साथ पालन गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको दूतावासका नियोग उपप्रमुख कुमार राईले बताए। व्यक्तिगत सुरक्षासँगै देशको प्रतिष्ठा कायम राख्न स्थानीय कानुनको पूर्ण पालना गर्न सवैसँग आग्रह गरिएको राईले बताए।