बागलुङ नगरपालिका वडा नम्बर १ र ४ को सीमामा पर्ने निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ। व्यक्तिगत सहयोग र विभिन्न निकायको सहयोगसहित करिब पाँच करोड लगानीमा भवन निर्माणाधीन अवस्थामा छ। यस मानव सेवा आश्रमको भवनबाट आश्रितलाई नियमित सेवा दिन महायज्ञमार्फत १० करोडको अक्षय कोष स्थापना गर्ने तयारी सुरु भएको छ। आश्रमलाई नियमित सञ्चालनका निम्ति आगामी २१ कात्तिकदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुँदै छ।
विशेष गरी मानव सेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर दुई सयजना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्यअनुसार रकम अपुग भएपश्चात् महायज्ञमार्फत रकम संकलन गरेर आश्रम सञ्चालन गर्ने तयारी थालिएको हो।
निर्माणाधीन भवनलाई पूरा गराउन थप तीन करोड आवश्यक पर्छ। यो भवन पूरा भएपछि दुई सयजनालाई राख्न सकिन्छ। मानव सेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखिरहेको छ। सडकमा अलपत्र भेटिएका, अपांगता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रमले राख्ने गरेको छ।
मासिक १० लाख खर्च गरेर आश्रममा ६६ जना राखिएको आश्रम सञ्चालक विपना तामाङले बताइन्। त्यति ठुलो खर्च भने आश्रमले दानमुठीको भरमा चलाएको हो। त्यसबाहेक मानव सेवा आश्रम बागलुङ शाखाको अक्षयकोष बढाएर १० करोड पुर्याउने, गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पूरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई नै सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माणको संकल्प पूरा गर्ने लक्ष्य छ।
महायज्ञ अवधिभर एक हजारजनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवर्धनका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने, महायज्ञ अवधिभर स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजनकीर्तन र कला तथा नाटक मञ्चन गर्ने योजना पनि छ। पहिलो दिन २१ कात्तिक बाजागाजा, सांस्कृतिक कार्यक्रम, झाँकी, शंखनाद, भजनसहित शोभा कलशयात्रा गरिनेछ । हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म भागवत भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन्।