कतारमा रहेका नेपाली समुदायले जेन–जी आन्दोलनपछि गठन भएको सरकारले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। कतारमा रहेका नेपाली श्रमिक र व्यवसायीहरूको संघसंस्थाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेअनुसार समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन्।
गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीले स्थिर सरकार हुने गरी निर्वाचन हुनुपर्ने र घोषित मिति (फागुन २१)को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने बताए। जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध देशलाई सजग बनाएको भन्दै पन्थीले निर्धारित समयमा निर्वाचन हुनुपर्ने कतारमा रहेका नेपाली समुदायको चासो रहेको बताए।
आफू विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुँदा कतारमा बस्दै आएका नेपाली समुदायको माग स्थिर सरकार हुनुपर्ने र घोषित निर्वाचनमा कतारसँगै प्रवासमा रहेका नेपाली समुदायलाई मताधिकार प्रयोग गर्न अवसर मिल्नुपर्ने बताए।
कतारमै क्युएसटी ट्रेनिङ सेन्टरकी प्रमुख रहेकी जलेश्वरकी यास्मिन नाजले देशमा निर्वाचन समयमै हुनुपर्ने बताइन्। जेन–जी युवा पुस्ताले आफ्नो बलिदानी दिएर देशलाई भ्रष्टाचारबाट जोगाउन खोजेको भन्दै यास्मिनले वर्तमान सरकारको प्राथमिकता निर्वाचन र २०४६ पछिको भ्रष्टाचारको छानबिन हुनुपर्ने बताइन्।
कतारमा कन्स्ट्रक्सन कम्पनी खोलेर व्यापार गर्दै आएका काठमाडौंका सुनीलकुमार घिमिरेले पनि नेपालमा निर्वाचन समयमै हुनुपर्ने धारणा राखे। जेन-जीको ठुलो आन्दोलनले देशमा सरकार परिवर्तन भएको भन्दै अहिलेको राजनीतिक निकास र देशको विकास गर्न युवा पुस्ताको सहभागितासहितको सरकार गठन हुन आवश्यक भएको उनले बताए।
कतारमै रहेकी काठमाडौं नैकापकी रिता पोखरेलले जेन-जीले आन्दोलन गरेर देशमा भ्रष्टाचारविरुद्ध सकारात्मक सन्देश दिएकाले समयमै निर्वाचन हुनुपर्ने बताइन्। आफू कतारमा काम गर्दै आएकाले मतदान गर्न व्यवस्था मिलाउनुपर्ने उनको पनि माग छ। अधिकांश युवा देशबाहिर रोजगारी र अध्ययनको क्रममा रहेको उल्लेख गर्दै पोखरेलले विदेशमा रहेको नेपाली समुदायलाई निर्वाचनमा मत खसाल्न पाउने अवसर अहिलेको सरकारले दिनुपर्नेमा जोड दिइन्।
धनुषा क्षेत्र नम्बर ३ बाट यसअघि प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवारी दिएका कन्स्ट्रक्सन कम्पनीका प्रमुख इन्जिनियर शम्भुनाथ साहले भ्रष्टाचारले जरो गाडेको देशमा युवा पुस्ताले बलिदान दिएर सही ट्र्याकमा ल्याउन खोजेको बताए। युवा पुस्ताको मागअनुसार नेपालमा घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने उनको धारणा छ। नेपालमा निर्वाचन गर्दा विदेशमा रहेका नेपाली समुदायलाई पनि मतदानको अवसर मिल्नुपर्ने भन्दै इन्जिनियर साहले अब पनि जेन-जीको मागअनुसार देशलाई भ्रष्टाचारमुक्त गर्न सक्ने स्थायी सरकार चयन गर्नबाट चुक्न नहुने बताए।
काठमाडौं सिनामंगलकी कृष्टिना माखिमले भ्रष्टाचारविरुद्ध युवाहरू पहिलोपटक स्वतस्फूर्त ठुलो संख्यामा सडकमा आएर सरकार ढालेको भन्दै अब नयाँ सरकार पाँच वर्ष चलाउन सक्ने गरी स्थायी हुनुपर्ने बताइन्। देशमा स्थायी सरकार नहुँदा अरू देशमा निर्भर हुनुपर्ने बाध्यता भएको भन्दै उनले आफू जेन-जी पुस्ताको भएकाले पनि आगामी निर्वाचन समयमै हुनुपर्ने र स्थायी सरकार चयन गर्नुपर्ने उल्लेख गरिन्। मतदानका लागि आफू निकै उत्साहित रहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर मिल्नुपर्ने बताइन्।
कतारको सनैयामा रहेको प्लाजा मलभित्रको एउट पसलमा ९ वर्षदेखि कार्यरत दाङ तुलसीपुरका नवराज डाँगीको मत पनि उस्तै छ। आफूले चुनावमा मत खसाल्ने अवसर पाए अवश्य परिवर्तनको पक्षमा मत खसाल्ने उनले बताए। कतारमा श्रम र व्यापार व्यवसायमा करिब साढे ३ लाख नेपाली रहेका छन्।