शिक्षा तथा खेलकुदमन्त्री महावीर पुनले सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थप्न निर्देशन दिएको बताएका छन् । बुधबार पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गरेका मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिने निर्देशन दिएको उल्लेख गरे । आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोहीअनुसार पाठ्यक्रम विकास गर्न पनि निर्देशन दिएको बताए ।
त्यस्तै, नास्टमा पनि दुई घण्टासम्म छलफल गरेर ल्याबहरू अवलोकन गरेका उनले ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको आफूले पाएपछि नास्टलाई उच्चकोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव लिँदै त्यहाँ कार्यरत सबैलाई यही हप्ताभित्र सुझाव दिन सबैलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘भवन र ल्याबहरू उच्चकोटिका छन्। भवन र ल्याबअनुसारको उच्चकोटिको काम हुनुपर्ने कुरामा जोड दिएँ।’
शिक्षा तथा मानव स्राेत विकास केन्द्रमा तीन घण्टा छलफल गरेका मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने विषयमा छलफल गरेको उल्लेख गरे ।