इलाम पहिरोबाट जोगिएकाहरू भन्छन्–सोच्दै नसोचेको विपत्ति आयो, सरकार आएन

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण
इलाम पहिरोबाट जोगिएकाहरू भन्छन्–सोच्दै नसोचेको विपत्ति आयो, सरकार आएन

देउमाई नगरपालिका– ५, धुसेनीका दीपक लिम्बूको पहिरोले पुरेको घर । जहाँ दीपकदम्पती र छोरीसहित पाँचजनाको ज्यान गएको थियो ।

इलाम देउमाई नगरपालिका– ५, धुसेनीकी मैया राई (लिम्बू) र उनका श्रीमान् गत शनिबारको पहिरोबाट बल्लतल्ल जोगिए । बाँसको टाटीले बनाएको घरमा मध्यराति पहिरो खसेपछि उनीहरूले भागेर ज्यान जोगाए ।

तर, एउटै आँगनमा घर भएका देवरदेउरानीको परिवारलाई पहिरोले आँखैअगाडि लगेको घटना उनको आँखामा ताजै छ । पहिरोमा परी मैयाका देवर दीपक, देउरानी ऋषिका र उनीहरूका छोरी दीपशिखा अनि ऋषिकाका भदा सौगात र सौजनले ज्यान गुमाए । एक बालिकाको स्थानीयले सकुशल उद्धार गरे ।

मैया अहिले आफन्तको घरमा बसिरहेकी छिन् । तर, उनी त्यस दिनको घटना भुल्न सक्ने अवस्थामा छैनन् । ‘घर भत्किएपछि आत्तिँदै छिमेकी र आफन्त बोलाउन गएँ,’ उनी भन्छिन्, ‘त्यहाँ आएकी भान्जीलाई जीवित नै निकालियो । पाँचजना एकैठाउँमा बिते । यस्तो आपत्ति त कहिल्यै सोचेका थिएनौँ । के–कसो गर्ने आजसम्म केही सोच्न सकेको छैन ।’

मिर्गौलापीडित रहेका उनका देवर दीपक दिनभर अर्काकोमा हाते ट्याक्टरले खेत जोत्थे । साथै, काठ काट्ने काम पनि गर्थे । छिमेकी र आफन्तले पैसा उठाएर उनको उपचार गरेका थिए । ज्यालामजदुरी गरेर नै ६ महिनाअघि नयाँ घर बनाएका थिए । घरसँगै उनको परिवार पनि पहिरोमा पुरियो । १२ असोजमा दीपककी छोरी दीपशिखा लिम्बूको जन्मदिन थियो । त्यही जन्मदिनमा आएका थिए देउरानी ऋषिकाका भदा सौगात र सौजन ।

माङसेबुङ–१, पाटीगाउँकी सादना लिम्बूको घर पनि पहिरोले लगेको छ । सादना आफू जसोतसो बाँच्न सफल भइन् । तर, जब रातको १ बज्छ, तब अझै उनलाई झस्काउँछ । पहिरोले नै पुरिएको समयमा पाँच दिनदेखि उनी निन्द्रामै बर्बराउँछिन्, झस्किएर उठ्छिन् ।

मिक्लाजुङबाट आएकी मामाकी छोरी बहिनी नेहा राईसँगै उनी सुतेकी थिइन् । राति एक्कासि घरमाथिबाट पहिरो गयो । दुई महिनाकी गर्भवती सादना घरसँगै पहिरोमा पुरिइन् । घरमा सातजना थिए । तीमध्ये बहिनी नेहासँगै उनकी सासुआमा र दिदीले पहिरोमा परी ज्यान गुमाए । दुई घण्टापछि श्रीमान् मदनसँगै छोराको जीवितै उद्धार भयो ।

केहीबेरपछि उद्धार गर्न गाउँले आएपछि भने सादनालाई बाँच्ने आशा जाग्यो । उनीसँगै छोरा संयोग र श्रीमान् मदनको जीवितै उद्धार भयो । त्यसपछि सादना बेहोस भइन् । उद्धार गरिएका तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।

सादनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै होस खुल्यो । ‘सँगै सुतेका बहिनी र म पहिरो गएपछि एकअर्काको अँगालोमा बाँधियौँ । दुवैजना चिच्यायौँ । तर, एक घण्टासम्म कोही आउन सकेन । जेठाजु घरबाट निस्किन सफल भएकाले गाउँमा गएर छिमेकी बोलाउनुभयो,’ उनी गहभरि आँसु पार्दै भन्छिन्, ‘बहिनी ब्लड क्यान्सरकी बिरामी थिई । औषधि खाँदै थिई । त्यसबिचमा म बेहोस भएँ । बहिनीले रगत छादेपछि मेरो अनुहारमा परेछ । त्यसले म ब्युँझिएँ । त्यसवेला बहिनीले दिदी म बाँच्दिनँ भनिन् ।’

अहिले उनीहरू उपचारपछि गाउँ फर्किएका छन् । घर भत्किएकाले  गजुरमुखीस्थित आफन्तकहाँ शरण लिएर बसेका छन् । ‘अन्तिम अवस्थाबाट जीवन जोगियो । तर, अब केही बाँकी छैन । आफन्तकहाँ बसेका छौँ । अब त्यो पुरानो घरमा बस्न सकिँदैन । त्यो दिनको झल्को आउँछ,’ श्रीमान् मदन भन्छन्, ‘अब सरकारले हामीलाई कतै राख्छ भन्ने अपेक्षा छ । नसोचेको घटनाबाट बाँचेका छौँ । बाँच्ने दिन रहेछ । यस्तो विपत्ति कहिल्यै सोचेका थिएनौँ ।’

पहिरोपीडित विकट बस्तीमा पुगेन सरकार 
पहिरोले पुरेको विकट बस्तीमा राहत र पुनर्स्थापनामा ढिलाइ भएको छ । इलाम देउमाई नगरपालिका–५, धुसेनीकी मैँया राई घरबारविहीन भएको पाँच दिन भएको छ । पहिरोले आफन्त गुमाएर आफू विस्थापित भएकी मैँयाको घरमा सरकार पुग्न सकेको छैन । घर भत्किएर आफन्त गुमाएको बिहान वडाध्यक्ष आए । तर, त्यसपछि कोही पनि आएको छैन । उनको बस्तीदेखि केही तल गजुरमुखीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की हेलिकोप्टर लिएर पुगे । तर, त्यहीँमाथि रहेको धुसेनीमा कोही पनि पुगेको छैन । ‘अर्काको घरमा बसेको छु । म भएको ठाउँमा त कोही आएन । अरूतिर त्रिपाल र खानेकुरा लिएर आएको सुनेको छु,’ उनी भन्छिन्, ‘तर, हाम्रोमा कोही पनि आएन ।’ 

इलामको बाढी र पहिरो भएको विभिन्न स्थानमा प्रभावितलाई भेट्न पुगेका रास्वपा नेता मिलन लिम्बूले सरकारले राहत र पुनर्स्थापनामा ढिलाइ गरेको बताए । देउमाई नगरपालिका–५, धुसेनीको पहिरो प्रभावित परिवारसँग बुधबार भेटिएका लिम्बूले राहतको नाममा सरकारले प्रभावितलाई दु:ख दिएको बताए ।

‘यो गाउँमा राहत लिएर कोही आएको पाइएन । पुनर्स्थापना त परको कुरा भयो । यो वेला नागरिकले सरकारसँग अपेक्षा गर्छन् । तर, सरकारको उपस्थिति हुन सकेन,’ उनी भन्छन्,‘ यसवेला पहिरोले सदरमुकाम जाने धेरै ग्रामीण सडक अवरुद्ध छ । पीडितलाई राहतस्वरूप दिने रकमका लागि सदरमुकाम बोलाएको पाइयो । यो वेला प्रशासन आफैँ घरमा आएर पीडितलाई सहानुभूतिसँगै राहत दिन आवश्यक छ ।’

खानेपानी अभाव
पहिरो प्रभावित क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । देउमाई नगरपालिका–५, धुसेनी क्षेत्रमा खानेपानीकोे मुहानमा पहिरोले क्षति पुर्याउँदा खानेपानी अभाव देखिएको हो । लुतिमाई खानेपानी आयोजनाको मुहानका धेरै ठाउँमा पहिरोले क्षति पुर्याएपछि खानेपानी समस्या भएको स्थानीय विपना लुइँटेलले बताइन् । ‘यो खानेपानी १२० घर परिवारले प्रयोग गथ्र्यौँ । मुहान बन्द भएपछि खानेपानीको संकट आएको छ,’ उनले भनिन्, ‘अहिले आधा घण्टासम्म पानी बोकेर खाइरहेका छौँ ।’

आवतजावतका लागि बाँसको पुल 
देउमाई खोलाले माङ्सेबुङ–१ र देउमाई–५ जोड्ने पक्की पुलको पश्चिमी भाग बगाएपछि आवतजावतका लागि बाँसका पुल बनाइएको छ । पैदल हिँडेर भए पनि आवतजावतका लागि सहज होस् भनेर स्थानीय र जनप्रतिनिधि मिलेर बाँसको फड्के बनाएका हुन् । ‘दसैँको समयमा आफन्तकहाँ देउमाईबाट यहाँ आएका र माङ्सेबुङबाट उता गएका धेरै नागरिक रोकिएका छन्,’ माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले भने, ‘बाँसको फड्के बनाएका छौँ । यहाँबाट सवारीसाधन आवतजावत हुँदैन । तर, पैदल भए पनि हिँड्न सहज होस् भनेर बनाएका हौँ ।’

सुझावित समाचार