लखन्देहीले बगाएको हुलाकी सडक बाँसको फड्केले जोडियो

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

लखन्देहीमा बाढीले टुटाएको हुलाकी सडक बाँसको फड्केले जोडिएको छ ।अविरल वर्षापछि लखन्देही खोलामा आएको बाढीले आइतबार जिल्लाको कौडेना गाउँपालिका– ३ मा १५० मिटर हुलाकी सडक बगाएको थियो । सडक बगाएपछि जिल्लाको दक्षिण पश्चिम क्षेत्रको सदरमुकाम मलंगवासँगै सम्पर्कविच्छेद भएको थियो । उक्त स्थानमा बाँसको फड्के बनाएर टुटेको सडक सञ्जाल फेरि जोडिएको हो । पालिकाको सहयोगमा सुरक्षाकर्मीले बाँसको फड्के तयार गरिदिएका हुन्। 

फड्के तयार भएसँगै यहाँको कौडेना, गोडैता, बलरा, रामनगरलगायत पालिकाका नागरिकलाई सदरमुकाम मलंगवासम्म पुग्न सजिलो भएको छ । तत्काललाई फड्केबाट पैदलयात्री र साइकल, मोटरसाइकल वारपार भइरहेको गाउँपालिका अध्यक्ष रुपेश कुमारले बताए। 

सोही स्थानमा केही स्थानीयले बाँसको अस्थायी फड्के बनाएर चर्को पैसा लिएर मानिसहरूलाई वारपार गराएको पाइएपछि पालिकाले आफैँले पहल गरेर फड्के तयार गरेको उनको भनाइ थियो । स्थानीय केही व्यक्तिले मानिस, साइकल, मोटरसाइकल वारपार गरेको १० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिएका थिए । यात्रुहरूको गुनासोपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्काललाई पैदल यात्रु, साइकल र मोटरसाइकल सञ्चालन हुने गरी बाँसको फड्के तयार गरेको हो । 

पालिकाको सक्रियतामा आवश्यक सामग्री जुटाएर बाँसको फड्के निर्माण गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । फड्के निर्माणपछि उक्त सडक भएर हिँड्ने यात्रुहरूले केही राहत महसुस गरेका कौडेना गाउँपालिका अध्यक्ष रूपेश कुमारले बताए । पालिकाको तर्फबाट सडकको छेउबाट डाइभर्सनसमेत निर्माण गरिरहेको बताए । 

इँटाभट्टाबाट टुक्रा इँटा ल्याएर डाइभर्सन निर्माणको काम मंगलबार बिहानैबाट सुरु गरिएको छ । ‘हामीले सडक बगाएको ठाउँमा तत्काल डाइभर्सन तयार गरिरहेका छौँ,’ उनले भने, ‘जग्गाधनीले केही आनाकानी गर्दा थोरै ढिला भयो । भोलिबाट डाइभर्सनबाट ठुला (चार चक्के) सवारी निर्वाध रूपमा सञ्चालन हुन्छ ।’ लखन्देही खोलाले कौडेना गाउँपालिकाअन्तर्गतका भित्री सडकहरूमा समेत क्षति पुर्याएकाले गाउँसम्म पुग्ने सडकहरूसमेत धमाधम मर्मत गरिरहेको उनको भनाइ छ । 

सुझावित समाचार