- सन् २०२३ मा इंग्लिस क्लब टोटनह्यामबाट ८६.४ मिलियन पाउन्डमा बायर्न म्युनिखमा आबद्ध भएका ह्यारी केन आगामी दुई सिजन बुन्डेस लिगमै रहने
इंग्ल्यान्डका कप्तान ह्यारी केन इंग्लिस प्रिमियर लिगमा फर्किने चाहना राखेको बेलायती मिडियाहरूले जनाएका छन् । जर्मनीको बुन्डेस लिगाबाट यसै सिजनमा इंग्लिस लिगमा आबद्ध हुन सक्ने मिडियाले दाबी गरेका छन् । तर, केनले आफू बायर्न म्युखिनमा रमाइरहेको जनाउँदै इंग्ल्यान्ड कुनै पनि हालतमा नफर्कने प्रस्ट पारेका छन् । ‘अहिले पूरै समय जर्मनीको बायर्नलाई दिइरहेको छु । यसभन्दा अरू केही पनि मनमा सोच आएको छैन,’ केनले भनेका छन् ।
सन् २०२३ मा केनले बायर्न म्युनिखसँग चार वर्षको सम्झौता गरेको थियो । इंग्लिस क्लब टोटनह्यामसँगको सम्झौता नवीकरण नगरी उनी ८६.४ मिलियन पाउन्डमा जर्मन क्लबसँग आबद्ध भएका थिए । ३२ वर्षीय केनले दुई सिजनमा बायर्नबाट एक सय ६ खेलमा एक सय तीन गोल गरिसकेका छन् । उनी अहिले बायर्नका गोल मेसिनका रूपमा रहेका छन् । सन् २०२४–२५ को सिजनमा केनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले बुन्डेस लिगाको उपाधि जितेको थियो । इंग्लिस खेलाडीको यो नै बुन्डेस लिगामा पहिलो उपाधि थियो ।
एकातिर केन जर्मनीमा आफ्नो बसाइ लामो बनाउने तयारी गरिरहँदा टोटनह्यामका म्यानेजर थोमस फ्याकले भने उनी पुरानै क्लबमा फर्कन लालायित भइरहेको बताएका छन् । ‘हामीलाई विश्वास छ । केन फेरि टोटनह्याममै आउनेछन्,’ थोमसले भने, ‘उनी अहिले जर्मन क्लबमा भए पनि प्रिमियर लिग भुल्न सकेका छैनन् ।’ इंग्लिस प्रिमियर लिगमा एलान सेरेररले कीर्तिमानी रूपमा दुई सय ६० गोल गरेका छन् ।
यो रेकर्डनजिक रहेका केन मात्र हुन् । एलानको रेकर्ड तोड्न उनलाई ४८ गोल आवश्यक छ । यो केवल उनी इंग्ल्यान्ड फर्कदा सम्भव हुनेछ । जर्मनको स्थानीय मिडियासँग कुराकानी गर्दै केनले भनेका छन्, ‘तत्काल मेरो योजना इंग्ल्यान्डको क्लबसँग आबद्ध हुने योजना छैन ।’
नयाँ सम्झौताको तयारी
केन र बायर्नबिचको नयाँ सम्झौता तयारी भइरहेको छ । केनले पनि क्लबसँगको सम्झौताअनुसार आफ्नो अगाडि बढ्ने बताएका छन् । ‘मैले गत साता पनि भनेको थिएँ, बायर्नसँगको सम्झौता नवीकरण हुनेछ । यो नै मेरो मार्ग दर्शन हो,’ उनले भने, ‘क्लबका पदाधिकारीलाई मेरो आफ्नो सबै पक्ष प्रस्ट राखेको छु ।’ केनले आगामी दुई वर्षसम्म बायर्नमै रहने बताएका छन् । दुई वर्षको सम्झौता बाँकी रहँदा अन्यत्र क्लबसँग अनुबन्ध वा सम्झौता गर्ने पक्षमा सोच्न नसकिने उनको भनाइ छ । ‘वास्तवमा सम्झौता नवीकरण पनि महŒवपूर्ण पक्ष हो । पक्कै पनि बायर्नले मेरो बारेमा राम्रो सोचेको हुनुपर्छ,’ केनले भने, ‘यद्यपि, म जर्मन क्लबमा खुसी छ र यहाँको वातावरण राम्रो लागेको छ ।’ उनले सुरुका दिनमा बुन्डेस लिगाको फम्र्याट बुझ्न गाह्रो भएको बताए । उनी भन्छन्, ‘सुरुको दिनमा मलाई यहाँको खेल शैली बुझ्न गाह्रो लागेको थियो । इंग्लिस र जर्मन क्लबबिचको खेल शैली नै फरक पाएँ ।
प्रिमियर लिग विकल्प
केनले भविष्यमा बुन्डेस लिगा पछि इंग्लिस प्रिमियर लिग नै विकल्पका रूपमा रहने इंगित गरेका छन् । ‘अहिले इंग्लिस प्रिमियर लिगबारे केही विचार नै छैन । तर, भविष्यमा जर्मनीबाट कतै जानुपरेको खण्डमा लन्डनका क्लबहरू नै पहिलो विकल्पका रूपमा रहनेछ,’ उनले भने, ‘मसँग जर्मनी बसाइ दुई वा तीन वर्ष छ । त्यसपछि अन्य विचार हुनेछ ।’ युरोपियन शीर्ष डिभिजन लिगमा सय गोल गर्ने उनी पहिलो इंग्लिस खेलाडी हुन् ।
टोटनह्याम र इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि केनले सर्वाधिक गोल गरेका छन् । बायर्नबाट उनले समग्रमा एक सय चार गोल गरेका छन् । केनले आफ्नो चाहना नै बायर्नलाई बढीभन्दा बढी उपाधि दिलाउनु रहेको बताए । ‘हामीले गत वर्ष उपाधि जित्यौँ । मेरो लक्ष्य यो क्लबलाई धेरैभन्दा धेरै उपाधि दिलाउनु हो,’ उनले भने, ‘मेरो लक्ष्य जर्मन आउनु एउटा पूरा भएको छ । अझ योभन्दा धेरै योगदान गर्न चाहन्छु ।’