तेस्रोपटक विश्वकप खेल्ने नेपालको सपना, बुधबार छनोटको पहिलो खेल

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि २० मध्ये १७ टोलीको तय भइसकेको छ । एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट तीन टोली छनोट बाँकी छ । तीन स्थानका लागि छनोट खेल बुधबारदेखि ओमानमा सुरु हुँदै छ। छनोटमा नेपाललाई पनि मुख्य दाबेदारका टोलीका रूपमा हेरिएको छ।

तीन स्थानका लागि एसिया र तथा पूर्वी एसिया प्यासिफिकका नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ । नेपाल, युएई, ओमान, कुवेत, कतार, पपुवान्युगिनी, मलेसिया, जापान र सामोआमध्ये तीन टोली विश्वकपमा जानेछन् । 

 नौ टिमको तीन समूह बनाएर प्रतिस्पर्धा हुँदै छ। समूह चरणका खेलमा शीर्ष दुई स्थानमा पर्ने टिम सुपर सिक्समा जानेछन् । सुपर सिक्समा पनि उत्कृष्ट तीन स्थानमा पर्नेले विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाउनेछन् । 

सुपर सिक्समा पुग्न नेपाललाई त्यति कठिन छैन । नेपालको समूहमा कुवेत र जापान छन् । नेपालको समूहका रहेका अन्य दुवै टिम तुलनात्मक रूपमा कमजोर मानिन्छन् । 
सुपर सिक्समा भने थप चार टोलीसँग प्रतिस्पर्धा हुनेछ । आफ्नै समूहबाट सुपर सिक्स पुग्नेसँग भने खेल हुँदैन । समूह चरणकै खेलको नतिजाका आधारमा सुपर सिक्समा अंक कायम हुनेछ । 

नेपालले बुधबार पहिलो खेल कुवेतविरुद्ध खेल्नेछ भने दोस्रो खेल जापानविरुद्ध शुक्रबार हुनेछ। छनोटअघि दुवै वार्मअप खेल तथा वेस्ट इन्डिजसँगको सिरिज जितेकाले नेपाल उच्च मनोबलमा उत्रनेछ । 

यसअघि नेपालले दुईपटक टी–२० विश्वकप खेलिसकेको छ । 

नेपाली टोली :

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी।

सुझावित समाचार