पूर्वतयारीले यसपटक भारी वर्षाको तुलनामा कम क्षति : इप्पान

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत् आयोजनामा निकै कम मात्र भौतिक क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ । 

बाढीपहिरोले विद्युत्गृहमा क्षति पुर्याए पनि मानवीय क्षति भने नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ‘विगतका वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठुलो मानवीय क्षतिसमेत हुँदै आएको थियो । यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबिच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफल भएका छौँ,’ उनले भने । 

भारी वर्षाका कारण आएको बाढी तथा पहिरोले १० जिल्लामा रहेका विभिन्न निजी क्षेत्रका ३२ जलविद्युत् आयोजना प्रभावित भएको  (इप्पान)ले जनाएको छ । सोमबारसम्मको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका एक सय ८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका तीन सय ३८ मेगावाटका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।  

बाढीपहिरोका कारण कोशी प्रदेशको इलाम जिल्लामा रहेका जलविद्युत् आयोजना पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, आठ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), सात मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, तीन मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा दुई र तीन मेगावाटको अपर पुवा–१ जलविद्युत् आयोजना रहेका छन् । बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु–४ भने सञ्चालनमा आइसकेको छ । 

निर्माणाधीन जलविद्युत् आयोजनामा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको प्रवद्र्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । यही वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।

निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवद्र्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ । प्राधिकरणको इलामस्थित ६.२ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना बाढीले प्रभावित भई उत्पादन बन्द भएको छ । प्रधिकरणतर्फका अन्य परियोजना प्रभावित नभएको निर्देशक चन्दनकुमार घोषले बताए ।

पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री र निर्माण उपकरणहरू नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका चार जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रह्मायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ । रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इखुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इखुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठुलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडीखोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ती–२ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँचमार्गलगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।

सुझावित समाचार