नोबेल पुरस्कार समितिले यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ । प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण संक्रमणलाई कसरी आक्रमण गर्छ भनेर व्याख्या गर्ने खोजका लागि जापानका सिमोन साकागुची र अमेरिकी अनुसन्धानकर्ता मेरी ब्रन्को र फ्रेड र्याम्स्डेललाई पुरस्कार दिन लागिएको हो ।
उनीहरूले शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष कोष रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएका थिए । उनीहरूको खोज अटोइम्युन रोग र क्यान्सरका लागि नयाँ उपचार विकास गर्न प्रयोग भइरहेको छ । विजेताले ११ मिलियन स्विडिस क्रोनर (आठ लाख ७० हजार युरो) बराबरको पुरस्कार बाँडफाँड गर्नेछन् ।
‘प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ र हामी सबैलाई किन गम्भीर अटोइम्युन रोग विकास हुँदैनन् भन्नेबारे हाम्रो बुझाइको लागि उनीहरूको खोज निर्णायक भएको छ,’ नोबेल समितिका अध्यक्ष ओले काम्पले भने, ‘प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भनेर बुझ्नका लागि तीनजनाको अनुसन्धान महŒवपूर्ण छ ।’ अहिलेसम्म ११६ पटक चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ ।
प्रत्येक वर्ष चिकित्सा शास्त्र, भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी ६ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ । विगत १२ महिनामा मानव जातिका लागि ‘उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ ।