बाँकेमा कालिजको माग धान्न मुस्किल

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

बोटबिरुवा, झारपात, किरा–फट्यांग्रा खाएर हुर्किने कालिजलाई बाँकेको बैजनाथ गाउँपालिका– १, चिसापानीका तुला बुढाले व्यावसायिक पालन गरेका छन् । गत वर्ष करिब डेढ सयवटा कालिज पालेर सुरु गरेको उनको फार्ममा अहिले तीन सयभन्दा बढी कालिज देख्न सकिन्छ । स्वादिलो र स्वास्थ्यकर पनि हुने कारण बजारमा माग बढ्न थालेपछि कालिजको संख्या पनि बढाएको उनले बताए । ‘मागअनुसार कालिज पु¥याउन नसकेपछि यस वर्ष बढाएर तीन सय पु¥याएका हौैँ,’ उनले भने ।

उनले उत्पादन गरेका कालिज कैलाली, सुर्खेत, बर्दियासँगै काठमाडौंसम्म जाने गरेको छ । ‘काजिल किन्न ठाउँ–ठाउँबाट आउँछन् । फोन गरेर मगाउँछन् । यसको माग धान्न गाह्रो छ,’ उनले भने ।

करिब १० लाख रुपैयाँ लगानीमा उनले कालिजका लागि खोर बनाएका छन् । चारैतर्फ जालीले घेरबार गरेका उनले माथि पनि धागोको जाली लगाएका छन् । ‘कालिज उड्ने भएकाले भाग्न नदिन माथि पनि जाली लगाइएको छ,’ तुलाले भने । कालिजलाई कुखुराको दानासँगै घाँस र विभिन्न जातका बिरुवाको पात खुवाउने गरेको छ । उनले बारीमा किमु, सलिफा, इपिल, कटहर, बोकाइनो, निमलगायतका बिरुवा रोपेका छन् । ‘कालिज जंगलमा बस्ने पक्षी हो । यसले जंगलमा पाइने विभिन्न जातका बिरुवा, जडीबुटी खान्छ,’ उनले भने, ‘जंगलमा दाना, पानी दिने कुरा आउँदैन । जंगलमा पाइने झारपात खाएर हुर्किने हुन् । त्यसैले बारीमा विभिन्न जातका बिरुवा रोपेका छौँ ।’

कालिजले बोटबिरुवाको बोक्रासमेत खाइदिएको उनले बताए । ‘बोक्रासमेत खाएपछि सुकेको बिरुवा देखाउँदै उनले भने, ‘यिनीहरूले केही बाँकी राख्दैन । बोटबिरुवाको पात र फल खान रुखको टुप्पासम्म जान्छन् ।’ एउटा भाले कालिजलाई कम्तीमा तीन हजार र पोथीलाई दुई हजार पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । पोथीभन्दा भालेको माग बढी भएको बताउँदै उनले तौलमा समेत फरक हुने बताए । ‘खानेहरूले पोथीभन्दा भालेको मासु मन पराउँछन्,’ उनले भने ।

गत वर्ष नाफा नभए पनि लगानी उठेको उनको भनाइ छ । ‘तारबार गर्ने र खोर तयार गर्न लागेको लागत उठ्यो । यस वर्ष फाइदा हुने आशा छ,’ उनले भने । तुला बुढाले अन्डाबाट चल्ला निकाल्ने मेसिनसमेत ल्याएका छन् । अन्डासमेत बिक्री गर्दै आएका उनले गत वर्षदेखि कालिजका चल्ला पनि बिक्री गर्न थालेका छन् ।

सुझावित समाचार