शनिबार र आइतबारको भीषण वर्षापछि मधेशका आठवटै जिल्लाको जनजीवन प्रभावित बनेको छ । बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यसपटक मधेशमा भारीदेखि अतिभारी वर्षा भएको छ । जसकारण नदी र खोलामा बाढी आउँदा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका अधिकांश बस्ती डुबानमा परेका छन् । मानवीय क्षति नभए पनि भौतिक संरचना र सडकमा व्यापक क्षति भएको छ ।
सप्तकोशी, जिता नदी र खाडोखोलाको बाढी बस्तीमा पस्दा सप्तरीमा करिब १५ सय घर डुबानमा परेका छन् । सप्तरीको कंकालिनी नगरपालिकाका पाँच सयभन्दा बढी, हनुमाननगर कंकालिनी नगरपालिकाका पाँच सयभन्दा बढी, तिलाठी कोइलाडी गाउँपालिकाका तीन सयभन्दा बढी, सप्तकोशी नगरपालिका एक सयभन्दा बढी घर डुबानमा परेको हो ।
सप्तकोशीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । कोशी पश्चिमी तथटबन्धभित्रका बस्तीमा शनिबार साँझदेखि पसेको बाढीले झन्डै पाँच सय घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । कोशीमा शनिवारदेखि पानीको बहाव तीव्र रूपमा बढिरहेको अवस्था छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ ,५,७, १२ र १३ का गरी पाँच सय घर डुबानमा परेको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिए । बस्तीमा झन्डै पाँचदेखि सात फिटसम्म पानी जमेका कारण घरमा बस्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
शनिबार रातिको समयमा बाढी आएकाले घरबाट खाद्यान्नलगायतका महत्वपूर्ण सामग्री जोगाउन नसकिएको पीडितहरूको दुःखेसो छ । ‘एकमुठी पनि खाद्यान्न निकाल्न सकिएन’, पीडित गीता मण्डलले भनिन्, ‘लत्ताकपडा, कागजात सबै घरभित्रै छन् । सबैतिर डुबेका कारण घरसम्म जान सक्ने अवस्था छैन ।’
जिता नदी र खाडोखोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । गाउँपालिकाका पाँचवटा वडामा बाढी पस्दा सयौँ परिवार प्रभावित भएका हुन् । वडा नम्बर २ लौनियामा खाडोखोलाको बाँधमा कटान हुँदा बस्तीमा बाढी पसेको छ ।
त्रियुगा नदीमा आएको बाढीले सप्तकोशी नगरपालिकामा सयभन्दा बढी घर डुबानमा परेका छन् । सप्तकोशी नगरपालिका– ६ का चोरिया टोलका ४९ र मुसहरी टोलका २९ घर गरी ७८ घर डुबानमा परेको वडाध्यक्ष नन्दीलाल चौधरीले बताए । नदीको पानी ओभरफ्लो भएर ५–६ फिटसम्म घरमा पसेपछि अहिले उनीहरूलाई नजिकको सामुदायिक विद्यालयमा सारिएको उनले बताए । बाढीका कारण बोचही टोलका ६ परिवारको घर भत्किँदा उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार विस्थापित परिवारलाई तत्कालका लागि राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा राखिएको छ ।
सर्लाहीमा एक हजार ६ सय १९ परिवार विस्थापित
बाढी र डुबानका कारण सर्लाहीमा एक हजार ६१९ परिवार विस्थापित भएका छन् । विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका १९ जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार जिल्लाका एक हजार ६१९ परिवार बाढीबाट विस्थापित भई सुरक्षित स्थानमा बसिरहेका छन् । तीमध्ये चक्रघट्टा गाउँपालिका– १, पडरियामा लखन्देही नदीको पानी पस्दा २० वटा कच्ची घरमा पूर्ण क्षति पुगेको राईले जानकारी दिए ।
अविरल वर्षापछि बलरा नगरपालिका– २ का सात सय घरमा पानी पसेको छ । वर्षाको पानीसहित लखन्देही खोलामा आएको बाढी पस्दा मलंगवा नगरपालिका– ५ भाडसरमा करिब दुई सय घर डुबानमा परेका छन् । कौडेना गाउँपालिका– ७ शिवनगरमा लखन्देही खोलाले बाँध कटान गरेर बस्तीमा पसेपछि आइतबार बिहानैदेखि करिब चार सय घरधुरी घर फर्कन सकेका छैनन् । अविरल वर्षापछि सदरमुकाम मलंगवास्थित जिल्ला भन्सार कार्यालय, प्रहरीचौकी गोरखकालीसहित मलंगवा–सोनवर्षा मुख्य नाका पनि डुबानमा परेको छ । बाढी र वर्षाको पानी पस्दा हरिवन, कबिलासी, बरहथवा नगरपालिका तथा चक्रघट्टा, कौडेना, बसबरिया गाउँपालिकामा दर्जनौँ घर डुबानमा परेका छन् ।
पर्सामा सिर्सिया नदीको बाढीले तीन सय बढी घर डुबानमा
सिर्सिया नदीको नदीको जलस्तर बढेर बस्तीमा पस्दा वीरगन्ज महानगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, २३, २३ र २४ मा दर्जनभन्दा बढी बस्तीमा बाढी पसेको हो । आइतबार साँझसम्म डुबानमा परेका बस्तीबाट पाँच सयभन्दा बढी मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी जानकारी दिए । उनका अनुसार विद्यालय, धर्मशाला, क्लबका भवनलगायतमा लगेर राखिएका उनीहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघको समन्वय वीरगन्ज महानगरपालिकाले ड्राइफुड, पानी र आवश्यक औषधि वितरण भइरहेको प्रजिअ अर्यालले बताए । वीरगन्जका मेयर राजेशमान सिंहले घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरूलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानमा राखिएको बताए ।
चट्याङ र डुबेर रौतहटमा तीनजनाले गुमाए ज्यान
लगातारको वर्षासँगै हावाहुरी र चट्याङ लागेर रौतहटको कटहरिया नगरपालिका– २ स्थित हथियाही गाउँमा दुई किशोरको मृत्यु भएको छ । हथियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी राजु कार्कीले जानकारी दिए । रौतहटको बागमती नदीमा आएको बाढीमा दाउरा टिप्न गएकी एक वृद्धाको आइतबार डुबेर मृत्यु भएको छ । माधवनारायण नगरपालिका– ८ का हरिवंश रायकी श्रीमती ७५ वर्षीया पन्मादेवी रायको दाउरा निकाल्ने क्रममा आइतबार बिहान डुबेर मृत्यु भएको डिएसपी कार्कीले बताए । पन्मादेवी घरदेखि झन्डै दुई किलोमिटर उत्तर पूर्वमा पर्ने बागमती खोलामा दाउरा टिप्न गएकी थिइन् ।
उदयपुरमा सयभन्दा बढीको उद्धार
निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिकामा सप्तकोशी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सप्तकोशी तटीय क्षेत्रका बस्तीमा स्थानीय खोलाहरूको बाढी पस्दा डुबानमा परेका हुन् । ‘सप्तकोशीको बाढी नभएर स्थानीय खोलानालामा बाढी आउँदा र आकाशबाट परेको पानीको निकास नहुँदा बस्ती डुबानमा परेका छन् । डुबानले जोखिममा परेका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका जम्मा एक सय २८ जनलाई उद्धार गरिएको छ,’ उनले भने ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो । उद्धार गरेकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बेलका नगरपालिका मेयर अशोक कार्कीले सप्तकोशी तटीय क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ८ र ९ वडा जोखिममा परेको जानकारी दिए । उनले भने, ‘अहिले डुबानमा परेका बस्ती पनि त्यही वडाका हुन् ।’
निरन्तरको वर्षाले स्थानीय खोलानालामा पानीको बहाव बढेका कारण धानखेतीमा ठुलो क्षति पुगेको छ । उनले भने, ‘अहिले डुबानको समस्या आकाशको पानीको निकास नहुँदा भएको हो । आकाशबाट पानी परेका कारण झन्डै १२ हजार जनसंख्या प्रभावित भएको छ ।’ बेलका क्षेत्र हाल विद्युत्विहीन भएको बताउँदै कार्कीले अकाशबाट पानी पर्न नछाडेसम्म जोखिम कायम रहने बताए । बाढीमा परेर उदयपुरमा दुईजनाको मृत्यु भएको छ । पहिरोको उच्च जोखिम रहेको र सडकको अवस्था जीर्ण रहेकाले गत १८ असोजदेखि २१ गते बिहान ५ बजेसम्मका लागि सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
महोत्तरीको जनजीवन प्रभावित
अविरल वर्षापछि रातु नदीको तटबन्ध फुट्दा जलेश्वरसहित महोत्तरीको विभिन्न पालिका तथा बस्ती जलमग्न भएको छ । जलेश्वरको खैरा, रमौल, बजराही, फुलहट्टा, साहुजीपट्टी, धबौली, सुगा, सारी र मुसरपट्टीलगायतका बस्ती डुबानमा परेका छन् । रतवारा र महोत्तरी गाउँपालिका तथा बलवा नगरपालिकाका विभिन्न गाउँमा पानी पसेर जनजीवन प्रभावित भएको छ । हालसम्म मानवीय क्षति नभए पनि भौतिक रूपमा ठुलो नोक्सानी भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । रातुनदीको पानी जलेश्वर प्रवेश गर्दा जलेश्वर कारागारमा रहेको २७० कैदीबन्दी असुरक्षित भएका छन् । कारागारभित्र करिब दुई फिट पानी पसेको छ ।
झापामा करिब ६ हजार घरपरिवार विस्थापित
अविरल वर्षासँगै आएको बाढीका कारण डुबान हुँदा झापामा पाँच हजार चार सय ८१ घरपरिवार विस्थापित भएका छन् । झापाको झापा गाउँपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगन्ज गाउँपालिकालगायत ठाउँमा डुबानका कारण पाँच हजारभन्दा बढी घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सबैभन्दा धेरै झापा गाउँपालिकाको वडा नम्बर १, २ र ७ का विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न सामुदायिक भवनमा राख्ने काम भइरहेको रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । झापा गाउँपालिकामा कन्काई माईको पानी पसेको छ । बाढीमा फसेका १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । मौसम खराब भएका कारण अन्यको उद्धार हेलिकोप्टरले गर्न सकेन । अन्य ५७ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बोटमार्फत उद्धार गरिएको छ । बाढीपहिरोले कोशी प्रदेशमा पाँच हजार ९२५ घर विस्थापित भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । जसमा १६ घर पूर्णरूपमा विस्थापित भएका छन् ।