देशका प्रमुख राजमार्गमा क्षति

अधिकांश राजमार्ग सञ्चालनमा आएपछि दसैँ मनाउन घर गएकाहरू गन्तव्यतर्फ फर्किँदै, तर विभिन्न जिल्लाका ४४ प्रमुख सडक अझै अवरुद्ध

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

दसैँलगत्तैको भारी बर्सातले अवरुद्ध बनेका मुख्य राजमार्ग सञ्चालनमा आउन थालेसँगै दसैँ मनाउन घर गएकाहरूको फर्किने क्रम बढ्न थालेको छ । आइतबार अधिकांश भूभागमा वर्षा हुन छाडेपछि लामो दूरीका यातायात सञ्चालनमा आएका छन् । तर, विभिन्न जिल्लाका प्रमुख ४४ सडक भने अझै अवरुद्ध छन् । सम्बन्धित सडक आयोजनाहरूले अवरुद्ध मार्ग खोल्न लगातार प्रयास भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अधिकांश राजमार्गहरू सञ्चालमा आइसकेको र यात्रा सहज बनाउने प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले अवरुद्ध र जोखिम नभएका राजमार्गहरूमा यातायात सञ्चालन गर्न आइतबार नै यातायात व्यवसायीलाई अनुरोध गरिसकेको छ । दुईदिने झरी र त्यसको क्षतिबारे जानकारी दिन ऊर्जा, भौतिक एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाढीका कारण सडकमा ठुलो क्षति नभएको र हाललाई जोखिम टरेको बताए । ‘हामीले धेरै क्षतिको आकलन गरेका थियौँ, धेरै जनशक्ति परिचालन गरेका थियौँ, त्यसकारण हाम्रो संरचनामा क्षति भए पनि मानवीय रूपमा अति क्षति भएको छैन, केही बस्तीहरू बगाएर मानवीय क्षति भएको छ, नदीको नजिकको बस्ती र सडक बगाएर कुनै पनि क्षति भएको छैन, अब आइतबारदेखि नै सडक खोल्नेतर्फ हामी अघि बढिसकेका छौँ,’ मन्त्री घिसिङले भने । 

अधिकांश राजमार्ग सञ्चालनमा, केहीमा अवरोध
नागढुंगा–मुग्लिन सडक आइतबार बिहानदेखि नै दुईतर्फी सञ्चालनमा आइसकेको छ । मुग्लिन–नारायणघाट–दाउन्ने–बुटबल खण्ड पनि दुईतर्फी नै सञ्चालनमा आइसकेको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए । उनका अनुसार सिद्धार्थ हाइवे पनि आइतबारदेखि नै सञ्चालनमा आइसकेको छ भने बिपी राजमार्गको भकुन्डेबँेसी–नेपालथोक खण्डमा भने सडक संरचना क्षतिग्रस्त अवस्थामा छ । यो सडक गत वर्षकै बाढीले जति क्षति गरेको थियो, अहिले पनि उही अवस्थामा क्षति भएको महानिर्देशक जैसीले बताए । उनका अनुसार बिपी राजमार्गको १२ स्थानमा क्षति भएको छ । जसमा चौकीडाँडा, चरङफेदी, घुमाउने, डालाबेँसी, पिप्ले, माम्ती, बोक्सेकुनालगायत ठाउँमा सडक क्षतिग्रस्त छ । ‘अहिले यहाँ पानीको मात्रा धेरै छ, पानीको मात्रा घटेपछि त्यहाँ काम सुरु हुन्छ र एक साताजतिमा सडक सञ्चालनमा आउँछ,’ महानिर्देशक जैसीले भने, ‘सम्भवतः सोमबारदेखि त्यस क्षेत्रमा अवरोध हटाउने काम थाल्छौँ ।’ उनका अनुसार मुग्लिन–पोखरा खण्डको साखर भन्ने स्थानमा एकतर्फी सञ्चालनमा छ । अरनिको हाइवेको बाह्रबिसेसम्म कुनै अवरोध छैन भने खावाँ क्षेत्रमा एकतर्फी छ । त्यस्तै, सोही सडकको कोदारी क्षेत्रमा भने पहिरो खसेर भएको अवरोध आइतबारै हटाइसकिएको छ । त्यस्तै, कालीगण्डकी कोरिडोर सडकमा कुनै अवरोध छैन भने हुलाकी राजमार्गको वीरगन्ज क्षेत्रमा डुबान भएको छ । कोशी राजमार्गको धरान र धनकुटा खण्डमा पहिरो खसे पनि हटाएर आइतबारदेखि नै सञ्चालनमा आइसकेको छ । मध्यपहाडी राजमार्गको फुर्कोट घुर्मी क्षेत्रमा पहिरो खसेका कारण अवरोध भए पनि आइतबारै हटाइसकिएको छ ।

त्यस्तै, कान्तिलोकपथ पनि आइतबार साँझदेखि सञ्चालनमा आइसकेको छ । काठमाडौं–फर्पिङ खण्डमा पहिरो गएका कारण सोमबारसम्म यो सडक पनि सञ्चालन ल्याइनेछ । थानकोट–चित्लाङ सडकखण्ड सञ्चालनमै छ । मेची हाइवेको जोडकलश भन्ने स्थानमा पहिरो खसेको छ भने पुलमा समेत समस्या देखिएको छ । उक्त पुल मर्मतमा सडक विभागले प्राविधिकहरू खटाइसकेको महानिर्देशक जैसीले बताए । मेची राजमार्गको माईखोला सञ्चालनमा आइसकेको छ भने त्यहाँबाट इलाम बजार र धोबीधारा क्षेत्रमा पहिरो पन्छाउन सोमबारसम्म लाग्नेछ । त्यस्तै, तमोर करिडोरमा कुनै क्षति नभएकाले वैकल्पिक रूपमा उक्त सडक प्रयोग गर्न विभागले अनुरोध गरेको छ । विभागले समस्या भएका हाइवेमा आइतबारदेखि नै सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ ।

कहाँ–कहाँ छ राजमार्गमा सवारी अवरोध ?
देशभरि भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका प्रमुख ४४ सडक अवरुद्ध भएका छन् । ताप्लेजुङको फक्ताङलुङ वडा नम्बर ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज अविरल बर्सातको बाढीले बगाएपछि अवरुद्ध भएको छ । मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजनाले रेमिट हाइड्रोको सहयोगमा पुल पुनर्निर्माणको पहल गरिरहेको छ । रसुवाको तातोपानी–टिमुरे खण्डमा ठुलो बाढीले नदी कटान हुँदा ठोरी–भण्डारा–मलेखु मार्ग अवरुद्ध भएको छ र उपकरण परिचालन भइरहेको छ ।

संखुवासभामा अल्फटे र कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले खण्ड अवरुद्ध भएको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले विभागीय ब्याकहोल्डर र एक्स्काभेटर परिचालित गरेको छ ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी खण्ड सिन्धुपाल्चोकमा अवरुद्ध भएको छ । सडक डिभिजन चरिकोटले उपकरण परिचालन गरेको छ । सिन्धुलीको अकरे भिरमा पुष्पलाल (मध्य पहाडी) राजमार्गमा लेदो र पहिरोका कारण सडक अवरुद्ध छ ।

ललितपुरको लाँकुरी भन्ज्याङमा ग्वार्को–लुभु–कुशादेवी–पनौती–दाहालटार मार्ग १० स्थानमा पहिरोले अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकका मम्तीदेखि भकुन्डेबेँसी खण्डमा बिपी राजमार्ग अवरुद्ध भएको छ । 
सुनसरीको चतरा–वराह क्षेत्र मार्ग अवरुद्ध भएको छ । विभागीय एक्स्काभेटर परिचालन गरिए पनि निरन्तर ढुंगा खस्दा सफा गर्न समस्या भइरहेको छ ।

केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम खण्ड (मेची राजमार्ग)मा ३० भन्दा बढी स्थानमा बाटो अवरुद्ध भएको छ । फिदिम र इलामबाट मेसिन परिचालित गरेर मार्ग खोल्ने प्रयास जारी छ ।

मकवानपुरको हेटाैँडा–बागमती–टीकाभैरव–भैँसेपाटी–एकान्तकुना मार्गमा लेदो र पहिरोले सडक अवरुद्ध भएको छ । झापाको पूर्व–पश्चिम (महेन्द्र) राजमार्गका भालुखोला र कालीखोला क्षेत्रमा डाइभर्सन पुनस्र्थापना कार्य सुरु गरिएको छ । धनकुटाका थुम्की, कुइभिर र लुम्फाजुङ खण्डमा निर्माण व्यवसायीले एक्स्काभेटर परिचालन गरी पहिरो सफा गर्ने काम गरिरहेका छन् ।

काभ्रेपलान्चोकको बिपी राजमार्गस्थित पिप्ले सिरानदेखि दाप्चा ब्रिजसम्मका विभिन्न खण्ड अवरुद्ध छन् । पाँचथरको फिदिम–राँके खण्ड पनि मेची राजमार्गअन्तर्गत अवरुद्ध छ ।

सुझावित समाचार