गण्डकी प्रदेश सभाको बैठक २२ असोजका लागि बोलाइएको छ । सभामुख कृष्ण धितालले २२ असोज दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश पोखराको सभाहल, मालेपाटन, पोखरामा बस्ने गरी मिति र स्थान तय गरेका हुन् ।
प्रदेश सभाका सचिव गोविन्द पौडेलले जारी गरेको सूचनामा भनिएकाे छ, ‘२५ भदौका लागि तोकिएको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएकोमा सभाको बैठक २२ असोज दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश पोखराको सभाहल, मालेपाटन, पोखरामा बस्ने गरी सभामुखले बैठकको मिति र स्थान निर्धारण गरेकाले गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
यसअघि १६ भदौमा गण्डकी प्रदेश सभाको बैठक बसेको थियो । १६ भदौको बैठक २५ भदौमा बस्ने गरी अन्त्य भएको थियो । जेन–जीको प्रदर्शनपछि २४ भदौमा प्रदेश सभामा भएको तोडफोड र आगजनीपछि पोखरा– ३ नदीपुरस्थित प्रदेश सभा भवनसँगै सचिवालय पूर्ण रूपमा जलेपछि बैठक मन्त्रालयको हलमा बस्न लागेको हो ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता डा. टकराज गुरुङका अनुसार प्रदेश सरकारले चालू अधिवेशनमा दुई विधेयक पेस गर्ने र त्यसमध्ये एउटा पारित र अर्को सैद्धान्तिक छलफलका लागि पठाउने र अर्को अधिवेशनमा पारित गर्ने गरी तयारी भएको छ ।
जसअनुसार गण्डकी विश्वविद्यालयसम्बन्धी ऐनमा केही संशाेधन र गाँजाखेतीसम्बन्धी विधेयक बैठकमा टेबुल गर्ने तयारी सरकारको रहेको छ । दुईमध्ये विश्वविद्यालयको ऐन पारित गर्ने र गाँजाखेतीसम्बन्धी विधेयक सैद्धान्तिक छलफलका लागि समितिमा पठाएर अर्को अधिवेशनमा पारित गर्ने गरी सरकारले तयारी गरेको छ ।