बिपी राजमार्गको रोशीखोलामा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षापछि आएको बाढीले बगाएको छ। डाइभर्सन बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन सबै बगाएको हो। राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेँसी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थायी रूपमा बनाइएको डाइर्भसन शनिबारदेखिको वर्षाले पुनः क्षति गराएसँगै राजमार्ग पूर्ण रूपले ठप्प भएको अध्यक्ष लामाले जानकारी दिए।
गत वर्ष यी सबै स्थानमा बाढीले पक्की राजमार्ग बगाएको थियो। क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोडको लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो। यसको मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउनका लागि करिब १० दिन लाग्ने गाउँपालिका अध्यक्ष लामाले बताए।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बिपी राजमार्गको करिब नाै किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुर्याएको छ। यसको वैकल्पिक मार्गको रूपमा सिन्धुलीको सित्खा हुँदै तेमाल–भकुण्डे सडकखण्ड हुँदै काठमाडौं प्रवेश गर्न सकिने भए पनि अहिले उक्त सडकखण्डमा पनि सडक अवरुद्ध भएको र दुई–चार दिनमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताइएको छ।
यसैगरी, अरनिको राजमार्गअन्तर्गत चउन्नकिलो र खावा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाएर राजमार्गमा यातायात नियमित गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।
काभ्रे र भक्तपुर जिल्लाको सीमा क्षेत्र रहेको साँगामा पनि पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको छ। उनले हाल बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको र अरनिको राजमार्गमा भने कुनै अवरुद्ध नरहेको बताए।