शुक्रबारदेखिको निरन्तर वर्षा रोकिएसँगै आइतबार हेटौँडाको आकाश खुलेको छ । लामो समयदेखि लगातार परेको वर्षा रोकिएपछि आज बिहानदेखि हेटौँडाको मौसममा सुधार आएको हो ।
मौसममा सुधार आएसँगै सडकमा सवारीसाधनको आवागमन बढेको छ भने बजार र गल्लीहरूमा पनि सामान्य चहलपहल फर्किएको छ । वर्षाका कारण अवरुद्ध बनेका वैकल्पिक राजमार्ग खुलाउने कामलाई समेत तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार साँझदेखि काठमाडौँ जाने कुलेखानी–फाखेल, सिस्नेरी र कान्ति लोकपथ सडकखण्डमा पहिरो खसेपछि सवारीसाधन र यात्रुहरू हेटौँडामै रोकिएका थिए । मौसममा सुधारसँगै आज बिहानैदेखि ती सडक खण्डहरूमा खसेका ढुंगा–माटो र लेदो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार वर्षा रोकिएर मौसम खुल्न थालेपछि पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने काम निरन्तर जारी रहेको छ ।




