नवलपुरमा जलेर एकजनाको मृत्यु, घटना शंकास्पद

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

नवलपुरको गैँडाकोटमा आज बिहान घरमा आगलागी भएर जल्दा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार नवलपुरको गैँडाकोट– १०, सम्झना चोकमा ८२ वर्षीया श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो । 

आज बिहान सम्झना चोकमा उनको दुईतले घरमा आगलागी भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्मी नवलपुरका १५ जनाको टोली गएर आगो नियन्त्रणमा लिएको थियो । 

आगलागीको कारण  नखुलेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले उक्त आगो बिहान साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । शव घटनास्थलमै रहेको छ । 

घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनका अनुसार ती महिला घरमा एक्लै बस्दै आएकी थिइन् । शव घोप्टो परेर जलेको अवस्थामा भेटिएको छ । 

घरको च्यानल गेटसमेत फोडिएको अवस्थामा रहेकोले घटना शंकास्पद भएको आशंकामा तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । घटनास्थल अहिले प्रहरीको सुरक्षामा राखिएको छ ।

सुझावित समाचार