भारी वर्षासँगै नागढुंगा–मुग्लिन सडकको धादिङखण्डको १६ स्थान पहिरोको उच्च जोखिममा परेको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङखण्डको १६ स्थान पहिरोको उच्च जोखिम रहेको जिल्ला विपत् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले पहिचान गरेको हो ।
देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका १६ स्थानहरूमा सडकमाथिबाट पहिरो खस्ने र सडक भासिने उच्च जोखिम पहिचान गरेको हो । धादिङ र संघीय राजधानी काठमाडौँको सीमा क्षेत्रमा पर्ने धादिङस्थित धुनीबेँसी नगरपालिकाको झ्याप्लेखोला (पुरानो पहिरो क्षेत्र) र सुरुङमार्ग, थाक्रे गाउँपालिकाको चार किलोमा (बाटो भासिएको), चार किलो पेट्रोल पम्प लेदो बग्ने ठाउँ, सात किलो, गल्छी गाउँपालिकाको कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), गजुरी गाउँपालिकाको चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर र बेनीघाट रोराङ गाउँपालिकाको हिलटप मोड, बाँदरे मोड, कृष्णभिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेका छन् ।
विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानहरूमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा कायम छ । सबैभन्दा बढी जोखिम बेनीघाट–रोराङ गाउँपालिका- १०, जवाङखोलामा देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए । ‘राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन, जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, यात्रामा ननिस्कनुहोस्,’ उनले भने, ‘छिनछिनमै रोकिने र खुलाउने क्रम चलिरहेको छ । पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाइएको छ । अहिले जाम वा अलपत्र अवस्थामा सवारी छैनन् । तर, राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन ।’
सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । ‘आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको छ ।अलपत्र परेका सवारीसाधनलाई सकेसम्म छिटो काठमाडौं प्रवेश गराउने कार्य भइरहेको छ । सडक विभागका प्राविधिकहरू, प्रहरी र स्थानीय निकायहरूको सहकार्यमा जोखिम न्यूनीकरणका कार्यहरू निरन्तर भइरहेको छ,’ उनले भने ।