चाडपर्व र जाडो मौसमका ७५ प्रतिशत सामग्री चिनियाँ क्षेत्रमै

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

उत्तरी नाका हुँदै नेपालका लागि ल्याइएका उपभोग्य सामग्री नेपाल– चीन सीमाको भूबनोट र प्राकृतिक विपतजन्य अवरोधले चिनियाँ क्षेत्रमै रोकिएका छन्। खासगरी दसैँ, तिहार र जाडो मौसमका लागि आवश्यक रेडिमेड, इलेक्ट्रोनिक्स र फलफूलजन्य सामग्री लगभग ७५ प्रतिशत अझै चिनियाँ क्षेत्रमा रोकिएका हुन्। २० प्रतिशत फलफूल नेपाल भित्रिएका छन्।

करिब १० प्रतिशत फलफूल कन्टेनरभित्र कुहिएकोले मिल्काइएको छ। तीन सय चिनियाँ कन्टेनर फलफूल खरिद गरेर ल्याइएकोमा जम्मा ३० कन्टेनर नेपाल भित्रिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्यसमेत रहेका स्याउ व्यापारी  शारदाप्रसाद पराजुलीले बताए। खासाबाट कम गाडी छाडेकोले फलफूलमा आँप लगभग सबै कुहिएको उनले प्रस्ट्याए। 

दसैँका लागि ल्याइएको कपडा र जुत्ताचप्पलजन्य रेडिमेड, तिहारमा प्रयोग हुने इलेक्ट्रोनिक्स र जाडो मौसमका लागि खरिद गरिएको जाकेट, कम्बल र ब्ल्याङ्केट बोकेका एक हजार कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । यसरी सामग्री रोकिनुमा नेपालतर्फ रसुवा र तातोपानी नाकाको भौगोलिक कठिनाइ मुख्य अवरोध हो। त्यसैगरी नेपालपटिको समस्या देखाएर चिनियाँ क्षेत्रमा भन्सारले गरेको ढिलाइ सहायक कारण हो । २४ असारदेखि रसुवा नाका बन्द छ। यता तातोपानी नाका पनि साउन पहिलो साताबाट पहिरोले करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्व लक्षित सामग्री आयात हुन सकेन।

पहिरो पन्छाउँदै पास भएका केही कन्टेनर रेडिमेड सामग्री राजधानी ल्याइएको छ। कोदारी सडक सञ्चालनमा रहेतापनि यसको जीर्ण अवस्थाले सवारीसाधन आवतजावत नियमित छैन । दिनहुँ भइरहेको वर्षाले कोदारीको डाक्लाङमा फेरि पहिरो गएकोले सवारीसाधन आवतजावत रोकिएको तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहले जानकारी दिए । चाडबाड लक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको उनले बताए । ‘खासामा भन्सार, अध्यागमन र स्थानीय सरकारबीच छलफल गरेपछि केही दिनदेखि कन्टेनर संख्या बढाइएको हो, ’उनले भने । 

चिनियाँ सहरबाट नेपालका लागि खरिद गरिएका सामग्री ल्हासा, सिँगात्से, मिम्बु, न्यालम र खासामा जाम भएका छन् । मुसा, राखेमा, आरके, आडो र सिल्क ट्रान्सपोर्ट कम्पनीका गोदाम भरिएकोले राख्ने ठाउँ छैन । खासाबाट २० किलोमिटरमाथि न्यालम, सय किलोमिटर टाढा मिम्बु र चार सय ५० किलोमिटर दूरीमा रहेको सिँगात्से सहरका सबै गोदाम भरिभराउ भएका छन् । अक्टोबर एक तारिखबाट लागू हुनेगरि चिनियाँ कस्टमले नेपाल निर्यात हुने सामग्रीमा दुई प्रतिशत कर लिन सुरु गरेकोले पनि ट्रान्सपोर्ट कम्पनीहरू सामग्री ढुवानी गर्न दुविधामा परेका छन्। करको भार कसले ब्यहोर्ने भन्ने विषयमा व्यापारी र ट्रान्सपोर्ट कम्पनीबिच समझदारी बनेको छैन। 

चिनियाँ पक्षले मौखिक दुई प्रतिशत र कागजी रूपमा २५ प्रतिशत कर बढाएको भनेर भन्सार डकुमेन्टमा लेखेकोले ट्रान्सपोर्ट कम्पनीहरु अलमलमा परेको आडो ट्रान्सपोर्ट कम्पनीले नयाँपत्रिकालाई जानकारी दिएको छ।
 
 

सुझावित समाचार