रामेछापमा ट्याक्सी दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

रामेछाप नगरपालिका–७, भालुखोपस्थित सडकमा ट्याक्सी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भालुखोपबाट रामेछाप डाँडातर्फ आउँदै गरेको बागमती बी.एच. ९२१९ नम्बरको ट्याक्सी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मन्थली नगरपालिका–४, हुडीछाप बस्ने ४१ वर्षीय लालकाजी घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको भरतपुर महानगरपालिका–७, पिपलचोकमा भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग.२ ख १४०४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–७ बस्ने ७२ वर्षीया नन्दाकली कँडेलको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यस्तै, नवलपरासी पश्चिम, सुनवल नगरपालिका–२, नयाँबस्तीस्थित सडकमा परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको छ। बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ इन्टरनेसनल हस्पिटल बुटवल रूपन्देहीमा थप उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सुझावित समाचार