मनाङ-लमजुङ सडकमा राति सवारीसाधन चलाउन रोक

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठुलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 
    
ठुलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ । 

निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ । 
    
बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पौड्यालले बताए । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । 
    
 

सुझावित समाचार