बाढीपहिरोकाे चेतावनीपछि बिपी राजमार्गमा राति गाडी चलाउन राेक

बिहिबार, १६ असोज, २०८२
डिजिटल संस्करण

आगामी चार दिन मनसुन सक्रिय भई अत्यधिक वर्षा हुने र बाढीपहिराेकाे समेत जाेखिम बढेपछि बिपी राजमार्गमा राति गाडी चलाउन राेक लगाइएकाे छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले वर्षात र बाढीपहिरोबाट सवारीसाधन र यात्रुलाई जाेखिम हुन सक्ने भन्दै  बिहीबारदेखि २१ असोजसम्म (साँझ ०५:०० बजेदेखि बिहान ०५:०० बजे सम्म) बिपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुन्डेबेँसी-सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनमा निषेध गरेकाे हाे।

साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधन रोक्न सक्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

मनसुन सक्रिय हुने चार दिनकाे अवधिमा अत्यन्त जरूरी नभई बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न पनि प्रशासनले भनेकाे  छ।
प्रशासनले मातहतका निकायलाई पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन निर्देशन दिएकाे छ ।

सुझावित समाचार