जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्वलक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए ।
वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आमनागरिकहरूमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन २४सै घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधन स्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोधसमेत गरेको छ ।