आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरियो

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

नवरात्रको नवौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा भए पनि यस वर्ष चौथी तिथि वृद्धि भई नवदुर्गामध्येकी चौथो कुष्माण्डा देवीको दुई दिन पूजा भएको थियो। 

महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन्। त्यो शब्द भगवतीलाई मन परेनछ। तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ। सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरूपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ।

दुर्गापक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यी नै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।     

नवरात्रको पहिलो दिन असोज ६ गते दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। 

दोस्रो दिन असोज ७ गते पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन असोज ९ गते कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन असोज १० गतेर पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो।

यस वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते स्कन्दमाताको पूजा आराधना गरियो। सातौँ दिन असोज १२ गते छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। आठौँ दिन असोज १३ गते सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो। महाअष्टमीका अवसरमा आज देशभरका शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको भिड लागेको छ। पशुबलि नदिनेले भने आज नरिबल, कुभिन्डाे, काँक्रो, मुलालगायत बलि दिने गर्छन्।

दुर्गा पक्षको नवौँ दिन आज असोज १४ गते महागौरी देवीको विशेष पूजा आराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

सुझावित समाचार