२५ भदौमा फरार कैदीबन्दीहरूलाई २० असोजसम्म फर्किन भीमफेदी कारागारको अन्तिम मौका

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी कारागार प्रशासनले गत २५ भदौमा फरार भएका कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्म कारागारमा फर्किनका लागि अन्तिम मौका दिएको छ।

कारागार प्रशासनले यस सम्बन्धमा एक सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई तोकिएको समयभित्र नफर्के थप सजाय भोग्नुपर्ने चेतावनी दिएको छ।
सूचनामा भनिएको छ, ‘यस भीमफेदी कारागारबाट भदौ २५ गते फरार भई फर्किन बाँकी कैदीबन्दीहरू असोज २० गते सोमबारसम्म कारागार फर्की आउन हुन सूचित गरिन्छ, अन्यथा सो समयभित्र फर्की नआए कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुनबमोजिमको थप सजाय हुनेछ।’

यस्तै, कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा कुनै पनि प्रकारको आश्रय दिने व्यक्तिलाई पनि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । कारागार प्रशासनले आमनागरिकलाई पनि फरार कैदीबन्दीहरूको खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ।

कारागारले फरार रहेका कैदीबन्दीहरू लुकेछिपेको ठाउँबारे कसैलाई जानकारी भएमा उनीहरूलाई कारागारमा फर्काउने कार्यमा सहयोग गरिदिन परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायीलगायत सबैमा हार्दिक अनुरोध गरेको छ।

यस कार्यमा सहयोग तथा सूचना आदानप्रदानका लागि प्रशासनले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान अधिकृत, सरकारी वकिल र कारागार प्रशासक सदस्य रहेका छन् ।

सुझावित समाचार