राष्ट्र बैंकले १४ दिनमा बजारमा पठायो साढे ५४ अर्ब सुकिला नोट

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले पछिल्लो १४ दिनमा (२९ भदौदेखि ११ साउनसम्म) बजारमा ५४ अर्ब ४२ करोड रुपैयाँबराबरको मुद्रा प्रवाह गरेको छ । दसँै–तिहारका लागि सुकिला नोटको माग बढ्दा केन्द्रीय बैंकबाट सोबराबरको मुद्रा बाहिरिएको हो ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटहीको सुविधा दिएको थियो । त्यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणलगायत विभिन्न संघ–संस्थालाई २९ भदौदेखि १० असोजसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको थियो । यद्यपि, आइतबारसम्म पनि नोट सटहीलाई कायम राखिएको थियो ।

दसैँ–तिहारमा विगतमा नयाँ नोट बजारमा पठाउँदै आएको केन्द्रीय बैंकले गत वर्षदेखि सुकिला नोट मात्रै पठाउने गरेको छ । तर, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले चाडबाडलक्षित गरी बैंक खाताबाट वालेटमा रकम जम्मा गर्न सकिने सीमा चार गुणा बढाएको छ । प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो सीमा १० पटक मात्र थियो ।

प्राकृतिक व्यक्तिले आफ्नो विद्युतीय वालेटमा ५० हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न पाउँदैन । बैंक खाताबाट वालेटमा पठाउन मिल्ने कारोबारको सीमा दुई लाख, वालेटबाट अन्य बैंक खातामा दुई लाख र एक वालेटबाट अर्को वालेटमा पठाउन सकिने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँ छ ।

यो व्यवस्था १३ असोजदेखि लागू भई २१ असोजसम्म कायम रहनेछ । यसैगरी, तिहार र छठ पर्वका वेला ३ कात्तिकदेखि १० कात्तिकसम्म यो प्रावधान लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

सुझावित समाचार