जेन–जी प्रदर्शनका क्रममा २४ भदौमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी भएको छ । पोखराको राष्ट्र बैंक चोकनजिकै रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा रहेको एउटा कोठामा आइतबार बिहान अज्ञात समूहले आगजनी गरेको हो ।
हाल सरसफाइको काम हँुदै गरेको भवनको ताला लगाएको मुख्य गेटको माथिबाट भवन परिसरमा प्रवेश गरेर आगजनी गरेको देखिएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने अनुसन्धान हुँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान करिब २ बजेको समयमा आगलागी भएको हो । आगलागीको सूचनापछि खटिएको प्रहरी टोलीले घटनास्थल हेर्दा लागुऔषध प्रयोगकर्ताहरू भवनमा छिरेर आगो लगाएको जस्तो देखिएको उनले बताए । लागुऔषध प्रयोगका केही प्रमाण आगलागी भएको स्थानमा भेटिएकाले लागुऔषध प्रयोगकर्ताले नै आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको रहेको प्रमुख कार्कीले बताए । आगलागी भएको स्थानमा केही गाँजा भेटिएकाले गँजडी समूहले आगजनी गरेको आशंका प्रहरीको छ ।
आगजनीका कारण भवनमा जल्न बाँकी रहेका कागजपत्र, जल्न बाँकी खाट, कार्पेटलगायत सामान निवास परिसरमा रहेको एउटा कोठामा राखिएको थियो । शनिबार राति सोही कोठामा गरिएको आगजनीपछि ती सबै जलेको मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले जनाएको छ । आगलागीपछि खटाइएको प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार सो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भनिएपछि हाल सरसफाइ र मर्मतको काम सुरु हँुदै गर्दा पुनः आगलागी भएको हो ।