दमक १ की ७१ वर्षीया धनमाया नेपालीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत फागुनदेखि नियमित डायलाइसिस गर्दै आएकी छिन् । विपन्न परिवारकी धनमाया डायलाइसिसकै लागि हप्ताको दुईपटक झापाको बिर्तामोड पुग्नुपर्ने बाध्यता थियो ।
डायलाइसिस निःशुल्क भए पनि आउने–जाने भाडाकै लागि करिब १० हजार खर्च हुने गरेको उनका छोरा भरत नेपाली श्रेष्ठ बताउँछन् । तर, अब दमकमै डायलाइसिस हुने भएपछि उनी खुसी छन् । ‘म मिस्त्रीको काम गर्छु । आमाको उपचारमा खर्च जुटाउन धौ–धौ थियो,’ उनी भन्छन्, ‘दमकमै हुने भएपछि हामीलाई धेरै सजिलो भएको छ । खर्च जोगिएको छ । टाढा जनुपर्ने बाध्यता हटेको छ ।’
दमकको लाइफलाइन अस्पतालले ०७८ सालदेखि नै दमकमा मिर्गौलापीडितका लागि डायलाइसिस गर्दै आएको छ । विगतमा ६ वटा मेसिनबाट ५२ जनाको डायलाइसिस गर्दै आएको थियो ।
सरकारले मिर्गौलापीडितका लागि निःशुल्क उपलब्ध गराउँदै आएको डायलाइसिस सेवाबाट नै उनीहरूको डायलाइसिस गर्दै आएको थियो । तर, थप चारवटा मेसिन जडान गरेपछि अब थप २९ जनाको डायलाइसिस गर्न सकिने अस्पतालका सूचना अधिकारी विशाल आङ्देम्बे बताउँछन् । ‘६ वटा मात्र मेसिन हुँदा एकजनालाई हप्तामा दुईपटक गरेर ५२ जनाको मात्र डायलाइसिस गर्न सकिन्थ्यो । तर, अब चारवटा थपिएपछि थप २९ गरी ८१ जनालाई गर्न सक्ने क्षमता बढेको छ,’ उनले भने, ‘११५ जना बिरामीले नाम टिपाएर पालो पर्खनुभएको थियो । अझै पनि पालो पर्खनुपर्ने अवस्था त छ नै । तर, केही सहज भएको छ । पालो आउनका लागि यहाँ डायलाइसिस गर्दै आएको बिरामी कि त अन्तै जानुपर्याे कि त मृत्यु नै हुनुपर्ने अवस्था थियो ।’
बिरामीको चाप बढेपछि थप चारवटा डायलाइसिस मेसिन थपेर दशवटा पुर्याइएको उनी बताउँछन् । दमकमा मिर्गौलापीडितका लागि डायलाइसिस गर्ने एक मात्र स्वास्थ्य संस्था हो, लाइफलाइन अस्पताल ।
दमकका बिरामीहरू डायलाइसिसकै लागि भद्रपुर, बिर्तामोड, विराटनगरजस्ता टाढाका अस्पताल जानुपर्ने बाध्यता छ । त्यसलाई कही हदसम्म न्यूनीकरण गर्न मेसिन थपिएको उनी बताउँछन् । अस्पतालले अझै मेसिनहरू थपेर बिरामीलाई सेवा दिने लक्ष्य रहेको सूचना अधिकारी आङ्देम्बेले बताए । नयाँ डायलाइसिस मेसिनको आइतबार एक कार्यक्रमबिच शुभारम्भ गरिएको छ । अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले बिरामीको सेवा नै अस्पतालको एक मात्र उद्देश्य रहेको बताए ।