कोशीका पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन सुरक्षित छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न जोड दिएका छन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, पर्यटन तथा हवाई यातायात समितिले आयोजना गरेको छलफलमा सहभागी पर्यटनविज्ञ र व्यवसायीहरूले जेन–जी आन्दोलनपछि नेपाल असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिस्तरमा जान नदिन सबैले सकात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
पर्यटन तथा हवाई यातायात समिति सभापति भविष श्रेष्ठले भदौ अन्तिम साता नेपालमा घटेको राजनीतिक घटनाक्रमबाट पर्यटन क्षेत्रमा असहज परिस्थिति सिर्जना भइरहेकाले अब सरकारसहित सबै सरोकारवालाहरूले नेपाल सुरक्षित छ भन्ने अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह गर्न आग्रह गरे । उनले जेन–जी आन्दोलनले सिर्जित परिस्थितिको निराकरणका लागि सरकारले तत्काल आवश्यक रणनीतिक अपनाउपर्ने बताए ।
होटेल व्यवसायी महासंघ कोशीका उपाध्यक्ष रविन गौतमले देशमा रोजगार सिर्जना गरी सबल अर्थतन्त्र निर्माणका लागि योगदान गर्ने व्यवसायीहरूलाई आन्दोलनमा निशाना बनाउनु दुःखद कार्य भन्दै उनीहरूको मनमोबल उकास्न सबै सरोकारवालाहरू लागिपर्नुपर्ने बताए ।
पर्यटनविज्ञ डा. प्रनिल नेपाल उपाध्यायले देशको पर्यटन क्षेत्रलाई पूर्ववत् रूपमा फर्काउन ढिला गर्न हुँदैन भने । उनले सबै सरोकारवालाहरूले दोस्रो र तेस्रो देशका पर्यटन व्यवसायी, विज्ञ र सरकारहरूसँग नेपालका सबै पर्यटकीय क्षेत्रहरू सुरक्षित छन् भन्ने सन्देश दिन जरुरी रहेको बताए ।
छलफलमा सहभागी पर्यटन व्यवसायीहरूले कोशी पर्यटन वर्ष २०८२ मार्फत भारतीय सहरहरूमा कोशी प्रदेशका पर्यटकीय गन्तव्य तथा पर्यटक सुरक्षासम्बन्धी सकारात्मक सन्देश प्रदान गर्ने कार्यक्रमहरू धमाधम सञ्चालन गर्नुपर्ने बताए । साथै होटेल व्यवसायीहरूले दिने सेवा सुविधालाई अझ विस्तार गरी, टुरिजम प्याकेज निर्माण गरेर भारत र तेस्रो मुलुकहरूमा सक्रिय प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए ।
छलफलका क्रममा पर्यटनविज्ञ र व्यवसायीहरूले अस्ट्रेलियाका टुरिजम क्राइसिस रिकभरी एक्सपर्ट डा. डेभिड विर म्यानसँग पर्यटन पुनर्स्थापनाका सम्बन्धमा भिडियोमार्फत अनुभव आदान–प्रदान गर्दै नेपाल सुरक्षित भन्ने सन्देश दिएका थिए । कोशी प्रदेशमा गत वैशाख २०८२ देखि पर्यटन प्रदेश वर्ष घोषणा भएको छ । तर, चाडबाड र पिक सिजन आइसकेकै समयमा जेन–जी आन्दोलन हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ ।