पर्सामा गोली प्रहार भएको तीन दिन बितिसक्दा पनि गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन् । जिल्लाको छिपहरमाई गाउँपालिका कार्यालयको अगाडि बिहीबार साढे ७ बजे राति गोली प्रहार हुँदा सोही गाउँपालिका वडा नम्बर ५ भिस्वानिवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएका थिए ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार गोली लागेर घाइते भएका युवाकाे सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका युवा खतरामुक्त रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।
तर, घटनामा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न गर्न नसक्दा स्थानीयवासी असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी स्रोतका अनुसार गोलुलाई गोली प्रहार गर्ने युवक छिपहरमाई गाउँपालिका– ३ झलमैयानिवासी राजु साह तेली हुन् ।
अहिले उनीसहित उनका परिवार घटना हुनेबितिकै भारतमा भागेकाले अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी स्रोत बताउँछ । गोली प्रहार गर्ने युवकले व्यक्तिगत रिसइवीका कारण अर्को युवकलाई गाउँपालिका कार्यालयनजिकबाट झलमैया जाने बाटोमा हार्डवेयर पसलअगाडि गोली प्रहार गर्न आएको प्रहरी स्रोत बताउँछ ।
गोली प्रहार गर्ने राजुले गाउँपालिका कार्यालयअगाडि पसल थापेका अर्को युवकलाई गोली प्रहार गर्ने योजना बनाए पनि घटना स्थलमा हेर्न गएका भिस्वाका गोलुलाई लागेको हो । स्रोतका अनुसार गोली लागेर घाइते भएका गोलु झगडा भएपछि हेर्न गएको वेला उनलाई गोली लागेको हो । गोलुलाई गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसके पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको अवस्था छ ।
पर्साका प्रहरी नायब उपरीक्षक योगबहादुर बस्नेतका अनुसार गोलुलाई गोली प्रहार गर्नेबितिकै प्रत्यक्षदर्शीसहित तीनजना पक्राउ परेका छन् । गोली प्रहार भएको केही घण्टामा उनीहरूलाई नियन्त्रणमा राखेर अहिले अनुसन्धान भइरहेकोे बस्नेतले बताए । यसअघि गत भदौ २३ मा पनि वीरगन्ज महानगरपालिकामा गोली चल्दा एक किशोरी घाइते भएकी थिइन् । वीरगन्ज– १६ स्थित मुस्कान होटेलमा गोली चल्दा होटेलमा काम गर्ने भारत बेतियाकी १८ वर्षीया निशा सहनी घाइते भएकी हुन् ।
पौने ४ बजेको समयमा भारतकै झारखण्डका २८ वर्षीय प्रदीपकुमार शर्माले गोली चलाएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनका अनुसार होटेलमा काम गर्ने सहनीमाथि शर्माले मादक पदार्थ सेवन गरेर गोली प्रहार गरेका थिए । गोली प्रहार भएको केही घण्टामा शर्मालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो । अहिले उनी प्रहरीको अनुसन्धानक लागि हिरासतमा रहेका छन् ।