पूर्वीनाका काँकभिट्टाबाट चालू आर्थिक वर्ष ०८२/८३ को दुई महिनामा तीन अर्बको मालवस्तु निर्यात भएको छ । मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजारको नेपाली उत्पादन निर्यात भएको हो । यो गत आवको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको दुई महिनामा तीन अर्ब ८६ करोड २८ लाख ४१ हजारबराबरको सामग्री निर्यात भएको थियो ।
कार्यालयका अनुसार यो नाकाबाट सबैभन्दा धेरै अलैँची निर्यात हुन्छ । नेपाली कृषिउपज अलैँचीको निर्यात गत वर्षको दुई महिनाका तुलनामा चालू आर्थिक वर्षमा ४३ दशमलव ९ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । यद्यपि, नेपालबाट निर्यात हुने अर्को कृषि उत्पादन चिया भने गत आवको ३४ प्रतिशतले निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा २५ लाख ७० हजार ६ सय ८९ केजी चिया पूर्वीनाका हुँदै निर्यात भएको छ । जसको मूल्य ७५ करोड ३४ लाख आठ हजार रुपैयाँ हुन आउने मेची भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा पूर्वीनाकाबाट एक अर्ब १३ करोड ७४ लाख आठ हजार मूल्यबराबरको ४४ लाख २३ हजार ३० केजी चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । यसबाहेक पूर्वीनाकाबाट कुकुर वा बिरालोले खाने छुर्पी, अम्रिसो, भेनियर सिट, अदुवा, काउली, मुसुरोजस्ता नेपाली उत्पादन निर्यात हुने गरेको छ ।
नौ प्रतिशतले आयात बढ्यो
पूर्वीनाकाबाट हुने निर्यात घट्दा आयात भने नौ दशमलव ०७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ०८१÷८२ को साउन र भदौमा सात अर्ब ५० करोड ९२ लाख ६५ हजार मूल्यबराबरको आयात भएको थियो । चालू आर्थिक वर्षको साउन र भदौमा भने आठ अर्ब ९० करोड १० लाख सात हजारबराबरका सामग्री आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । मेची भन्सार कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।
यस्तै, त्यसबाहेक जुट र जुटका उत्पादन, दलहन, पशु आहारको कच्चा पदार्थ, तरकारी, फलफूल, तयारी कपडालगायत आयात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ । पूर्वीनाका हुँदै भारत, बंगलादेश, भुटान, चीन, तान्जानिया, अस्ट्रेलिया, जापान, म्यानमारलगायत १३ देशमा आयात–निर्यात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।
राजस्वमा वृद्धि
आयात बढेसँगै मेची भन्सार कार्यालयमा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा झन्डै नौ प्रतिशत राजस्व वृद्धि भएको छ ।
गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशत राजस्व वृद्धि भएको हो । मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनमा दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व संकलन गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।