कांग्रेसमा विशेष महाधिवेशनको दबाब : देउवाले २६ असोजमा बोलाए केन्द्रीय समिति बैठक

इतर समूह विशेष र संस्थापन नियमित महाधिवेशनको पक्षमा

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनको माग गर्दै संस्थापन इतरपक्षले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका वेला कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । दसैँपछि २६ असोजमा बस्ने गरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । संस्थापनइतर पक्षले कोजाग्रत पूर्णिमाआसपास ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेर लिखित रूपमा विशेष महाधिवेशन माग गर्ने अभियान चलाइरहेको छ । यस्तो वेला देउवाले अस्पतालबाटै बैठक बोलाएका हुन् ।

बैठक बोलाउनुअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग देउवाले छलफल गरेका थिए । एक नेताका अनुसार देउवालाई भेट्न खड्का अस्पताल पुगेका थिए । पछिल्लो परिस्थितिबारे चासो राख्दै देउवाले बैठकमै सबै विषयमा छलफल हुने बताएका थिए । देउवासँगको भेटमा भएका कुराकानी खड्काले आफूनिकट नेताहरूसँग सेयर गरेका छन् । महाधिवेशनको समय नजिकिएकाले नियमित महाधिवेशनबाटै अगाडि बढ्नुपर्नेमा देउवाको जोड छ ।

तर, संस्थापनइतर पक्ष भने मंसिरमा नियमित महाधिवेशन नहुने अडानमा छ । इतर समूहका शेखर कोइराला–गगन थापाले विशेष महाधिवेशनको माग गरेका छन् । अहिले हस्ताक्षर अभियान जारी छ । इतर समूहका नेता गुरुराज घिमिरेले नियमित प्रक्रियाबाट मंसिरमा महाधिवेशन असम्भव भएको बताए ।  ‘छलफल गरेर मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्ने हो भने हुन्छ । नियमित प्रक्रियाबाट मंसिरमा महाधिवेशन सम्भव छैन । २१ फागुनमा चुनाव छ । त्यसकारण विशेष महाधिवेशन हुनुपर्छ । केन्द्रीय समितिले आह्वान गरेर विशेष महाधिवेशन गर्दा राम्रो हुन्छ । मंसिरमा नियमित महाधिवेशनको प्रक्रिया थालिएकै छैन । कानुन जटिलता देखिँदैन । तर, नैतिक र राजनीतिक अवस्थाले म्याद थप्न दिँदैन,’ उनले भने । मुलुकको राजनीतिक अझ विकराल भएर पनि जान सक्ने भएकाले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा समग्र परिस्थितिबारे समीक्षा हुने र पार्टीको कार्यदिशा पनि तय हुने बताए । ‘बैठक बोलाइएको छ । त्यहाँ समग्र परिस्थितिको समीक्षा हुन्छ । पार्टीको कार्यदिशा तय हुन्छ । देश र संविधानको बारेमा ठोस निष्कर्ष निकाल्छौँ,’ उनले भने । देउवाकै सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने उनले जानकारी दिए । बैठकमा एजेन्डा जानकारी दिन महतले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका छन् । जेन–जी आन्दोलनपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

जेन–जी आन्दोलनपछि कार्यसम्पादन समिति बैठक भने उपसभापति खड्काको अध्यक्षतामा बसेको थियो । जेन–जी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कुटपिट गर्दा घाइते भएका देउवा हाल अस्पतालमै उपचाररत छन् । देउवाको अवस्था सुधारोन्मुख रहेको र केही दिनमा डिस्चार्ज हुने जानकारी खड्काले आफूनिकट नेताहरूसँग गराएका छन् । ‘सभापति केही दिनमा डिस्चार्ज हुनुहुन्छ । उहाँलाई आवासको पनि व्यवस्था गर्नुपर्नेछ । उहाँले म ठिक हुँदै छु, केही दिनमा डिस्चार्ज हुन्छु । र, मेरै अध्यक्षतामा बैठक बस्छ भन्नुभएको छ,’ खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि सभापति केही दिनमै डिस्चार्ज हुने बताए । ‘सभापतिको स्वास्थ्य राम्रो हुँदै गएको छ । केही दिनमै उहाँ डिस्चार्ज हुनुहुन्छ । वासस्थानको पनि टुंगो लगाउनुपर्छ । दसैँपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्छ । असोज महिनाभित्रै कांग्रेसको अगामी नीति र रणनीति तय हुन्छ,’ उनले भने ।

विश्वकर्माले कांग्रेसको नियमित महाधिवेशन नै हुने दाबी गरे । ‘विशेष महाधिवेशन असान्दर्भिक हुन्छ । केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । एक वर्ष म्याद थप्न पाउने वैधानिक व्यवस्था छ । त्यसकारण अब हुने महाधिवेशन नियमित महाधिवेशन नै हो,’ उनले भने, ‘कार्यकालभन्दा अघि गर्नुपर्दा विशेष महाधिवेशन हुन्छ, पछि गर्दा नियमित नै हुन्छ ।’ विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्छ भन्नेमा कांग्रेसमा कुनै विवाद नरहेको उनले दाबी गरे ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले एक व्यक्ति एक पदमा दुईपटक मात्रै रहने विषय केन्द्रीय समितिमा उठ्ने बताए । ‘एक व्यक्ति एक पदमा दुईपटक मात्रै रहने, सांसद तीनपटक, केन्द्रीय समितिमा तीनपटक भएकाले एकपटक अन्यलाई अवसर दिनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा जान्छ,’ उनले भने ।

विशेष महाधिवेशनको विषय उठाएर पार्टीमा द्वन्द्व ल्याउने काम गर्न नहुनेमा उनले जोड दिए । पार्टीमा अवसरको समानुपातिक वितरण हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीमा एकता ल्याउने काममा लाग्नुपर्छ । त्यसकारण नियमित महाधिवेशनमै जानुपर्छ । एकताबद्ध हुँदा मात्रै कांग्रेस बलियो हुनछ । विशेष महाधिवेशनले द्वन्द्व निम्त्याउँछ । त्यो पार्टीको हितमा हुँदैन,’ उनले भने । पार्टी एकमतका साथ चुनावमा होमिने र जने–जीका माग पनि सम्बोधन गर्ने उनको दाबी छ । केन्द्रीय पदाधिकारीको भूमिकाबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

सुझावित समाचार