एकीकृत समाजवादीले बनायो भुसालको नेतृत्वमा कार्यदल

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपछि बदलिँदो राजनीतिक परिस्थितिमा वाम एकताका लागि भन्दै एकीकृत समाजवादी पार्टीले कार्यदल बनाएको छ । वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा गठित कार्यदललाई सबै कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता गर्ने कार्यादेश छ ।

भुसाल नेतृत्वको कार्यदलमा अर्का वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन् । पार्टीको नामको अगाडि नेपाल कम्युनिस्ट पार्टी भएका, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आमनेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने पार्टीहरूसँग एकताका लागि वार्ता गर्ने कार्यादेश उक्त कार्यदललाई छ । त्यस्तै, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद, समाजवादी कार्यदिशा अँगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्नेलगायतका आधार पनि एकताका लागि अघि सारेको छ ।

‘चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ,’ अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै भनेका छन् ।

शुक्रबार मात्रै सम्पन्न एकीकृत माओवादीको केन्द्रीय समिति बैठकले पनि समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न पहल गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीले २१ फागुनका लागि तोकिएको निर्वाचनको तयारी गर्न महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले निर्वाचनको तयारी र रणनीति तयार गर्ने बताइएको छ ।

कार्यदलमा उपमहासचिव तथा संसदीय विभाग प्रमुख गरिमा शाह, उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई, सचिव तथा आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य विजय पौडेल, पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख दिलकुमारी पन्त, पोलिटब्युरो सदस्य तथा कानुन फाँट इन्चार्ज धनप्रसाद गौतम, पोलिटब्युरो सदस्य तथा कानुन विभाग प्रमुख देउमान सम्बाहाम्फे र केन्द्रीय सदस्य केदार सञ्जेल सदस्य छन् । आगामी निर्वाचनमा पार्टी कसरी जानुपर्छ भन्ने सम्बन्धमा आवश्यक अध्ययन तथा छलफल गरी प्रस्ताव ल्याउन कार्यदल गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिए । त्यस्तै, जेन–जी आन्दोलनका क्रममा संलग्न व्यक्ति र त्यसबाट भएका जनधनको क्षतिको अध्ययन गरी प्रतिवेदन तयार पार्न वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । कार्यदलमा उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव मेटमणि चौधरी सदस्य छन् ।

सुझावित समाचार