नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका वेला दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरूको एकताका कारण नै जनता सार्वभौम भएका र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गरे।
महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरण गर्दै त्यसवेला दलहरू विभाजित रहेकोमा पछि एजेन्डामा एकताबद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उनको भनाइ छ।
‘असोज १८ ताका दलहरू एजेन्डमा विभाजित र अन्योलग्रस्त थिए। तर, माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए,’ पोखेरेलले लेखेका छन्, ‘परिणामस्वरूप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्यो।’
महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शीर्षक दिएर लेखेको छोटो स्टाटसमा कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेन्डामा निर्भर रहने उल्लेख गरेका छन्।