दसैँमा यात्रा ‘कष्टकर’

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण
दसैँमा यात्रा ‘कष्टकर’

घर फर्कन बस कुर्दै नयाँ बसपार्कमा सर्वसाधारण । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

मुख्यतः मुग्लिन–नारायणगढ–बुटवल सडक अवरुद्ध हुँदा काठमाडौंबाट विभिन्न ठाउँका लागि बाहिरिने यात्रुहरूलाई कष्ट भइरहेको छ। काठमाडौंबाट पूर्व–पश्चिम जाने अधिकांश दिवा तथा रात्रि बस र ठुला सवारीसाधनले त्यही रुट प्रयोग गर्नुपर्छ।

उपत्यकाबाट दसैँ मान्न घर जाने यात्रुको संख्या बढ्दो छ । दसैँ नेपालीको ठुलो पर्व हो । यसपालि १६ असोजमा विजयादशमी अर्थात् टीकाको दिन छ । अध्ययन, रोजगारीलगायतका प्रयोजनका लागि देशका विभिन्न ठाउँ रहेका यतिवेला नेपाली दसैँ मान्न घर जाँदै छन् । विदेशमा रहेका नेपाली पनि हवाईमार्ग हुँदै काठमाडौं आएर सडक तथा आन्तरिक हवाईमार्ग हुँदै आफ्नो घर जाँदै छन् ।

विशेष गरी काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको संख्या धेरै छ । तर, यसपालि सडकमार्फत गरिने यात्रा भने कष्टकर भइरहेको छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलन र त्यसपछिको निषेधाज्ञाको परिस्थितिलाई अधिकांश विद्यालय तथा कलेज तिहारसम्मकै लागि बन्द गरिएको छ । त्यसले गर्दा गत २८ भदौयता नै यात्रुको चाप उच्च छ । तर, यसपालिको यात्रा भने कष्टकर भइरहेको छ ।

यसपालि दसैँ छिट्टै छ । नेपालबाट मनसुन बाहिरिसकेको अवस्था छैन । अझै पनि पटक–पटक विभिन्न ठाउँमा वर्षा भइरहेको छ । त्यसपछि ठाउँ–ठाउँमा आएका पहिरोले पटक–पटक सडक अवरुद्ध भएका छन्, फलस्वरूप यात्रुहरू सडकमा अलपत्र परेका छन् ।

साना गाडीका लागि बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्गलगायतका वैकल्पिक सडक भए पनि काठमाडौंबाट पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म जाने ठुला गाडीले यिनै सडकखण्ड प्रयोग गर्नुपर्ने बाध्यतामा

मुख्यतः नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा काठमाडौंबाट विभिन्न ठाउँका लागि बाहिरिने यात्रुहरूलाई कष्टकर भइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड नेपालकै लाइफलाइन सडक हो । काठमाडौंबाट पूर्व–पश्चिम जाने अधिकांश दिवा तथा रात्रि बस र ठुला सवारीसाधनले त्यही रुट प्रयोग गर्नुपर्छ । साना गाडीका लागि बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्गलगायतका वैकल्पिक सडक भए पनि काठमाडौंबाट पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म जाने ठुला गाडीले सोही सडकखण्ड प्रयोग गर्नुपर्ने बाध्यता छ ।

तर, सोही सडकखण्ड गत शुक्रबारदेखि पहिरोका कारण खुल्ने र बन्द हुने भइरहेको छ । मुग्लिन बजारदेखि करिब दुई किलोमिटर दक्षिणपट्टि रहेको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोला पुलछेउमा शुक्रबार साँझ पहिरो गएपछि दुईतर्फी रूपमा सडक अवरुद्ध भएको थियो । त्यसपछि आइतबार अपराह्न चार बजे एकतर्फी खुलेको सडक सोमबार फेरि अवरुद्ध भयो । त्यसपछि मंगलबार बिहान करिब ११ बजे खुलेको सडक मंगलबार साँझ त्यही ठाउँमा ठुलो पहिरो गएपछि बन्द छ । तर, डोजर, एक्स्काभेटरलगायतका सामग्री प्रयोग गरेर जतिसक्दो छिटो राजमार्ग खुलाउने सरकारी प्रयास जारी छ ।

सडक विभागका अनुसार एक सय ६० मिटर सडक पहिरोले पुरेको छ । बिहीबार राति १० बजेबाट उक्त सडक खुलाउने प्रयास छ । यसरी मुख्य सडक पटक–पटक अवरुद्ध भएपछि कैयौँ यात्रु सडकमै अलपत्र परेका छन् । तुइन खोलाको पहिरोले काठमाडौं, नारायणगढ र पोखरातर्फ नै ट्राफिक जाम गराएको छ । त्यही पहिरोका कारण बिहीबार नौबिसेसम्म नै गाडीको जाम भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । मुख्य गरी पूर्वतर्फ आवत–जावत गर्ने ठुला गाडीलाई समस्या भएको उनको भनाइ छ ।

‘पश्चिम जाने गाडीलाई पोखरा हुँदै सिद्धार्थ राजमार्गबाट पठाएका छौँ । पश्चिम जाने गाडीलाई जेनतेन म्यानेज गरिएको छ । तर, पूर्व जाने गाडीलाई समस्या भएको छ । साना गाडीलाई बिपी राजमार्ग, कान्तिपथ र त्रिभुवन राजपथ विकल्प छ । तर, ठुला गाडीका अरू विकल्प छैन,’ उनले भने, ‘त्यसले गर्दा समस्या भएको छ । यद्यपि, अन्य ठाउँमा पहिरो गए पनि सडक विभागले समयमै पन्छाएको छ । त्यसले गर्दा अन्य ठाउँमा भने खासै समस्या छैन ।’ पश्चिम जाने व्यक्तिलाई हेटौँडासम्म सानो गाडीमा पठाएर त्यहाँबाट ठुलो गाडीमा पठाउने गरेको पनि उनले बताए ।

सडक विभागको प्रवक्ता इ. प्रभातकुमार झाले अन्य ठाउँमा समस्या नभएको बताए । ‘यसपालि दसैँकै मुखमा नारायणगढ–मुग्लिन सडकखण्ड लामो समयसम्म अवरोध भयो । तुइन खोलाको पुल बिहीबार रातिबाटै खुल्दै छ । त्यसपछि त्यहाँबाट हुने यात्रा सुरु हुनेछ,’ उनले भने, ‘अन्य ठाउँमा भने सामान्य अवस्था नै छ । कोदारी सडक सञ्चालनमा आइसकेको छ । दाउन्नेमा पनि खासै समस्या छैन । कुनै पनि सडकखण्डमा पहिरो जान्छ भने त्यसलाई छोटो समयमै पन्छाउन सकिने गरी आवश्यक मेसिनहरू तैनाथ राखिएको छ ।’

तुइन खोलाकै पहिरोका कारण विभिन्न जिल्लाबाट काठमाडौं आउने ठुला गाडी सडकमै रोकिएका छन् । त्यसले गर्दा काठमाडौंमा टिकट काटेर बसेकै यात्रुले पनि बस पाउन सकेका छैनन् । ‘गाडी सडकमै रोकिएको अवस्था छ । मागअनुसार गाडी संख्या नहँुदा अग्रिम टिकट गरेका यात्रुुलाई पनि पठाउन चुनौती भएको छ,’ अध्यक्ष स्वाँरले भने, ‘अग्रिम टिकट काटेका यात्रुलाई मुस्किलले एक–दुई दिनपछि पठाउने गरेका छौँ ।’ अहिले सहज रूपमा नयाँ टिकट बुक गर्न पनि नसकेको उनले बताए ।

महासंघका अध्यक्ष स्वाँरले तुइन खोलाको पहिरो पन्छाउन सकेमा यात्रा व्यवस्थापन गर्न सहज हुने बताए । ‘अहिले हामीलाई मुख्य समस्या नै नारायणगढ–मुग्लिन सडकखण्डको अवरोध हो । त्यहाँको तुइन खोलाको पहिरो पन्छाउन सकियो भने हामीलाई धेरै सहज हुन्छ,’ उनले भने ।

सुझावित समाचार