कोशी प्रदेश सभाको जारी बर्खे अधिवेशन अन्त भएको छ ।
आाज शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको जारी बर्खे अधिवेशन अन्त गर्ने निर्णय गरेको हो
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार आज १० असोज शुक्रबार राति १२ बजेबाट कोशी प्रदेश सभाको चालू सातौँ अधिवेशन अन्त्य गराउन प्रदेश प्रमुखलाई सिफारिस भएको छ ।
जेन–जी आन्दोलनको वहानामा अराजक समूहले आगजनी गरेर ध्वस्त बनाएको कोशी प्रदेश सभा सचिवालयले जीर्ण अवस्थामा रहेको मिडिया सेन्टरको कोठाबाट काम सुरु गरेको थियो ।
२४ भदौमा जेन–जी आन्दोलनको वहानामा अराजक समूहले तोडफोड र आगजनी गरेर कोशी प्रदेश सभाको सचिवालय र संसद् बैठकसहित चारवटा भवन, फर्निचर र कम्प्युटरहरूसमेत ध्वस्त बनाइएको थियो ।
आन्दोलनकारीहरूले गरेको आगजनी र तोडफोडबाट कोशी प्रदेश सभाको चारवटा भवनसहित २१ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । मिडिया सेन्टरमा समेत तोडफाेड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीपछि बाँकी रहेका फर्निचर, कम्प्युटर र अन्य सामग्रीहरू सबै चोरी गरेर लगेका थिए ।
अराजक समूहको आगजनीबाट चार वर्षअघि १५ करोडमा निर्माण भएको कोशी प्रदेश सभाको नयाँ संसद् भवन जलेर पूर्ण क्षति भएको छ ।
कोशी प्रदेश सभाका निमित्त सचिव गौतमराज अमात्यका अनुसार जेन–जी आन्दोलनको वहानामा भएको आगजनी, तोडफोड र चोरीबाट भएको क्षतिबारे विवरण संकलन भइनसकेकोले अझै क्षतिको यकिन भइसकेको छैन । कोशी प्रदेश सभामा दोस्रो कार्यकालको सातौँ अविधेशन जारी थियो । १३ भदौमा जारी बर्खे अधिवेशनको ३९औँ बैठकमा कोशी प्रदेश तथ्यांकसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक पारित गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद्को बैठक स्थगित भएको थियो ।